चेकमा नाम नमिल्दा माथिल्लो तामाकोशीका लगानीकर्ताले दुख पाए

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा शेयर भरेका स्थानीय लगानीकर्ताले रकम फिर्ता पाउन कठिन भएको बताएका छन् । विक्रीप्रवन्धक सनराइज क्यापिटलले दिने चेकमा नाम नै गलत हुने गरेको र सच्याउन झण्झटिलो प्रकृया भएकाले आफुहरुले दुख पाएको गुनासो स्थानीय लगानीकर्ताको छ ।

साउन १६ गतेदेखि भदौ २१ गते सम्म माथिल्लो तामाकोशीमा शेयर आवेदन भरेका स्थानीय लगानीकर्ताले फिर्ता पाउनुपर्ने रकम पाउन कठिन भएको बताएका छन् । आफ्नो परिवारमा एउटै बैंकखातामा दुईजनाले फिर्ता पाएको र बाँकीले नाम तथा खाता नम्बर नमिलेको भन्दै फिर्ता पाउन नसकेको बताएका छन् । नगद नपाउँदा विक्रीप्रवन्धकले चेक बनाइदिएपनि नाम नमिल्ने र सच्याउन असहयोग गरेको आरोप लगानीकर्ताको छ ।

विक्री प्रवन्धक सनराइज क्यापिटलले भने केहि प्राविधिक त्रुटि हुने गरेको स्वीकार गर्दै चेकमा कुनै समस्या भए तत्काल सच्याउन सकिने व्यवस्था गरिएको दावी गरेको छ ।

क्यापिटलले लगानीकर्ताको बैंकखाता अध्यावधिक नभएको, बैंकखाता नमिलेको र नाम नमिलेको कारण ५० हजार भन्दा बढि आवेदकलाई चेक मार्फत भुक्तानी दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्