यसरी काँचुली फेर्दैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले (भिडियाे)

काठमाडौँ । विश्वका समृद्ध देशको जस्तो अन्तर्राष्ट्रिय विमानस्थल बन्न त समय लाग्ला, तर अहिले सुधार एवम् स्तरोन्नतीका लागि भइरहेको सत्प्रयासले आमनागरिकमा आशाको सञ्चार गरेको छ । शौचालय, ढल, खानेपानी, पार्किङ, रङरोगन त सामान्यभन्दा सामान्य कुरा हुन् । तर, त्यै पनि नभएको परिवेशमा जुन प्रयास भएको छः त्यसलाई कम भन्न सकिँदैन ।


नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल सुुधारका लागि छ । एसियाली विकास बैंक (एडिबी) को ८ करोड अमेरिकी डलर बराबरको ऋण तथा अनुदान सहयोग एवम् नेपाल सरकारको १ करोड २० लाख डलर गरी कुल ९ करोड २० लाख अमेरिकी डलर लगानीमा त्रिभुवन विमानस्थल सुधार परियोजना सञ्चालित छ । परियोजनाअन्तर्गत विमानस्थलको धावनमार्ग विस्तार र टर्मिनल भवन निर्माणसँगै खानेपानी तथा ढल निकासको काम भइरहेको छ । परियोजना सम्पन्न भएपछि विमानस्थलको स्वरुप नै बदलिने छ । र, प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई संसारकै पहिलो ‘बुटिक एयरपोर्ट’ बनाउने घोषणा गरिसकेका छन् ।

नयाँ टर्मिनल भवन बनेपछि प्रतिघण्टा २५ सय यात्रुले सहजै आवत–जावत गर्न सक्नेछन् । जुन अहिलेको क्षमताभन्दा करिब दोब्बर हो । यससँगै विमानस्थल अहिलेजस्तो अस्त–व्यस्त हुँदैन । संसारकै पहिलो ‘बुटिक एयरपोर्ट’ बनाउने घोषणाले थप आशाको सञ्चार गरेको छ । मौलिक कलाकृतिबाट विमानस्थल सजाउने कुराले विश्वमाझ नेपालको चिनारी हुने सत्यलाई नकार्न सकिँदैन । यद्यपि, यतिमात्रै पर्याप्त भने छैन । अहिलेको योजना सबै पूरा भइसक्दा पनि विश्वका ठूला विमानस्थलको तुलनामा नेपालको अन्तर्राष्ट्रिय विमानस्थल कमजोर नै हुनेछ ।

अहिले नेपाल नागरिक उडड्यन प्राधिकरणले त्रिभुवन विमानस्थल विस्तार तथा स्तरउन्नतिका लागि तीनैवटा योजना एकैसाथ अघि बढाइरहेको छ । तीनै वटा योजना पूरा हुँदा त्रिभूवन विमानस्थल अन्तर्राष्ट्रिय मापदण्डको हुनेछ । निरासा नै निरासाले धेरिएका नेपालीलाई साना–तिना सुधारले पनि कतिधेरै उत्साहित बनाउँदो रहेछ भन्ने पछिल्लो उदाहरण हो विमानस्थलको स्तरोन्नती ।

प्रतिक्रिया दिनुहोस्