तत्काल माग पूरा नभए सरकारलाई दिएकाे समर्थन फिर्ता लिने राजपाको चेतावनी

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको माग सम्बोधनका लागि एक साताको समय मागेका छन् । राजपा अध्यक्ष मण्डलका नेतासँग आज भएको भेटमा प्रधानमन्त्री ओलीले नेकपाभित्र छलफल गरी राजपाका माग सम्बोधनको प्रक्रिया सुरु गर्न एक साताको समय मागेका हुन् ।

राजपाले संविधान संशोधन, कैलाली–१ बाट निर्वाचित सांसद रेशम चौधरीको सपथ ग्रहण, विभिन्न आन्दोलनमा पक्राउ परेका कार्यकर्ताको मुद्दा फिर्ता र रिहाईको माग गर्दै आएको छ । प्रधानमन्त्री ओलीले सबै माग ‘प्याकेज’मै सम्बोधन गर्ने आश्वासन दिएका छन् । राजपाले सात दिनभित्र माग पूरा गर्ने प्रक्रिया सुरु नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दोहो¥याएको छ ।

राजपाले आफ्नो मागबारे यसअघि प्रधानमन्त्री ओलीलाई पाँच पटक ज्ञापन–पत्र बुझाइसकेको छ । राजपाले आज बस्ने भनिएको अध्यक्ष मण्डलको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएको थियो । बैठक अघि नै प्रधानमन्त्री ओलीले राजपाका नेतालाई छलफलका लागि बोलाएका हुन्।

प्रतिक्रिया दिनुहोस्