बझाङमा नदी जन्य पदार्थको अबैध दोहन तीब्र, नियमन गर्ने निकाय बेखबर !

  • रिदम सिंह,

बझाङ, १० पुस । बझाङ जिल्लाका विभिन्न नदी र खोलाहरुबाट ढुङ्गा गिट्टी र बालुवाको अबैध दोहन तीव्र रुपमा हुन थालेको छ । अबैध दोहनँगै बाढीको समस्या बढ्नुका साथै नदी खोलाको सतह गहिरो भई कतिपय सिंचाई आयोजनाहरु पनि बन्द हुने अवस्थामा पुगेका छन् । साथै खोला र नदीमा निमार्ण गरिएका संरचनाहरु पनि बाढीको खतरामा छन् ।

नदीमा बनाइएका संरचनाहरु पुल पुलेसा लगाएतका क्षेत्रभन्दा ५ सय मीटर तल माथिसम्म नदीजन्य पदार्थहरु झिक्न नपाइने नियम नेपाल सरकारले बनाएको छ । यद्यपी यस जिल्लामा नदीजन्य पदार्थहरुको उपयोग सम्बन्धी कुनै पनि व्यवस्थाहरु लागु नभएको सरोकारवाला निकाय जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी स्वयंले स्वीकार गरेका छन् ।

निमित्त जिल्ला समन्वय अधिकारी लालबहादुर थापाले भने, ‘यहाँ नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी कुनै पनि नियमको पालना भएको छैन । जसलाई जसरी मन लाग्यो त्यसरी झिकेर लगेका छन् ।’ यस कार्यलाई रोक्न हालसम्म कसैले पनि पहल नगरेको उनको भनाई छ ।

विस्तृत वातावरणिय अध्ययन गरेर ठेक्का प्रक्रियाबाट मात्र नदीजन्य पदार्थ दोहन गर्ने नियम भए पनि त्यसको बझाङमा त्यसको पालना कत्ति पनि भएको छैन । यहाँ रहेका विभिन्न नदी र खोलाहरुमा जथाभावि डोजर, स्काभेटर प्रयोग गरेर ढुङ्गा, गिटी, बालुवा निकाल्ने काम भइरहँदा नियमन गर्ने निकायहरु मुकदर्शक बनेको स्थानीयको आरोप छ ।

पुलको संरचना वरिपरी रहेका ढुङ्गा, वालुवा झिकेकै कारण झण्डै ३० वर्ष पुरानो जिल्लाकै दोस्रो बाहुलीगाढ खोलाको झोलुङ्गे पुल बगाएको प्राविधिकहरु बताउँछन् । दुई वर्ष अघि श्रावणमा बाहुलीगाढ खोलामा गएको बाढीले आसपासका ४०-५० वर्ष पुराना घरपसलहरु र सदरमुकामको केही जग्गा समेत बगाएको थियो ।

बाहुलीगाढमै रहेको रहेको सदरमुकाम जोड्ने एक मात्र मोटरेवल पुलको वरिपरीबाट नदीजन्य पदार्थ निकाल्ने क्रम तिब्र भएका कारण उत्त पुलमा पनि जोखिम बढ्दै गएको प्रति प्राविधिकहरुको चिन्ता छ । ‘नदीमा निमार्ण भएका संरचना वरिपरिका ढुङ्गाहरु झिक्दा नदीको सतह घट्दै (स्कोरिङ हुदै) जाने हुन्छ । पुल लगायतका संरचनाको डिजाइन गर्दा सतह घट्छ भन्ने अनुमान गरिएको हुदैन ।’

जिल्ला प्राविधिक कार्यालयका प्रमुख नृपराज जोशीले भने ‘लगातार नदी जन्य पदार्थको दोहनले यस्ता संरचनामा बाढीको जोखिम बढ्दै गइरहेको छ ।’
यसलाई तत्काल व्यवस्थीत गर्न जरुरी रहेको उनको भनाई छ । बाउली खोला र सेती नदीबाट बालुवा गिट्टी ढुङ्गा जथाभावि ढंगले उत्खनन् गरी केही ब्यापारी तथा ठेगदार र केही स्थानीय बासिन्दाहरुले विक्री समेत गर्ने गरेको स्थानीय बासिन्दा रमेश केसीले बताए ।

नदीको सतह घट्दै जाँदा आसपासका बस्तीहरुमा बाढीको जोखिम बढेको छ । विषेश गरी सेती नदी, बाहुलीगाड, कालंगागाढ लगायतका नदीहरुमा नदीजन्य पदार्थको दोहन तिव्र भइरहेकाले यी नदीमा बनेका दर्जनौं झोलुङ्गे पुल बग्ने र सतह सिंचाई आयोजनाहरु बन्द हुन खतरा बढेको स्थानीयहरु बताउँछन । यता सदरमुकाम चैनपुर बचाउनका लागि लाखौंका लगानीमा निर्माण गरिएका पर्खालहरु समेत भत्कन सक्ने खतरामा रहेको स्थानीय बासिन्दा लक्ष्मिराज जोशीले बताए ।

यस्तै जिल्ला कै उर्वर भूमीको रुपमा चिनिएको रिठापाटाको देवल जिउलोमा लाग्ने सिंचाईकुलोको बाँध समेत ७ वर्ष यता ८-१० पटक भन्दा बढी माथि माथि सार्नु परेको रमेश धामीले बताए । जथाभावी ढुङ्गा र गिट्टी निकाल्दा खोलाको सतह घट्दै गएकोले प्रत्येक वर्ष बाँध माथि सार्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्