सरकारभन्दा कर्मचारीतन्त्र बलियो ! खटाएको स्थानमा कर्मचारी जादैनन्

  • देवराज पन्त,

मकवानपुर, १० पुष । प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले मन्त्रालय मातहत भए गरेका कार्य प्रगति सम्बन्धी जानकारी हेटौंडामा आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । सम्मेलनमा सबैभन्दा समस्या र चुनौति दक्ष जनशक्ति र कर्मचारी अभाव रहेको प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयमा अहिले पनि झण्डै ५० प्रतिशत कर्मचारी आएका छैनन् । मन्त्रालय मातहत ६८ जनाको दरबन्दी रहेकोमा ३८ जना मात्र आईपुगेको र केही कर्मचारी आफैलाई पायक पर्ने स्थानमा दरबन्दी र सरुवा मिलाउनका लागि कर्मचारी संगठन तथा राजनीतिक ढोका चहार्दै खटाएको स्थानमा नजाने भरमग्दुर प्रयासरत रहेको बताएका छन् ।

यस मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय र शिक्षा निर्देशनालय, शिक्षा तालिम केन्द्र जस्ता महाशाखामा झन कर्मचारी नै नभएको उनले बताए । कतिपय अवस्थामा अधिकृतहरु फिल्ड गएको बेला आफै बसेर आफूहरुले काम गर्दै आइरहेको मन्त्री दुलालले बताए । हाम्रो मन्त्रालयमा ७ वटा महाशाखा छन् तर ४ वटा महाशाखामा त एउटा पनि कर्मचारी छैनन् । संघीय सरकारले सरुवा गरी पठाउछन्, कर्मचारी यहाँ नआई केन्द्रबाट नै सरुवा मिलाएर बस्ने प्रवृत्किा कारण प्रदेश सरकारले सोचे अनुरुप कार्य प्रगति गर्न नसकेको मन्त्री दुलालले गुनोसो पोखेका छन् ।

सबैभन्दा बढी भद्रगोल स्वास्थ्य क्षेत्रमा रहेको छ । स्वास्थ्य सेवा विभागले अस्पतालको मेडिकल सुपरिन्टेण्डेण्टका लागि ११ औं तहको चिकित्सक हुनु पर्ने बताएपनि सोका लागि सरकारले पठाएका चिकित्सक अस्पतालमा आजसम्म काममा नपुगेका कारण बाध्य भएर नुवाकोट जिल्लाको त्रिशुली अस्पतालमा सातौ तहकी नर्स अधिकृत देवकी पुडासैनी सो अस्पतालको मेसुको काम गर्दै अस्पताल सञ्चालन गरिरहेकी छिन् ।

प्रदेश ३ को काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, रामेछापमा स्वास्थ्य कार्यालय स्थापना गरिएको छ । सञ्चारमैत्री रहेका सामाजिक विकास मन्त्री दुलालको अगुवाईमा आफ्नो मन्त्रालयको कार्य प्रगति विवरण तथा बर्तमान समस्या र चुनौतिलाई समेत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्