अनुगमन हराएपछि चितवनको भरतपुर बजारमा पुनः वेथिति मौलाउने डर

  • शरद / प्रकाश

चितवन । चितवन र आसपासका जिल्ला समेत अनुगमन गर्ने उदेश्यसहित चितवनको भरतपुरमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले प्रभावकारी काम गर्न सकेको छैन् । कात्तिक २६ गतेबाट चितवनमा तीन जना कर्मचारीको दरबन्दी रहने गरी कार्यालयको स्थापना भएको हो । कार्यालय स्थापना भएको डेढ महिना बितिसक्दा पनि कार्यालयका कर्मचारी अनुगमन भन्दा पनि कार्यालयको पूजा गरेरै दिन बिताउँदै आएका छन् ।

बिगतमा आफनै कार्यालय भवन नहुँदा कार्य सञ्चालनमा असहजता सृजना भएपछि काम कारवाही थप प्रभावकारी बनाउन कार्यालय स्थापना भएकोे थियोे । तर कार्यालय स्थापना भए पछि झन काम कारवाहीमा भने शून्यता छाएको छ । यस अघि जिल्ला प्रशासन कार्यालय भरतपुरमा कार्यालय रहने गरी बजार संरक्षण अधिकृत र खाद्य निरीक्षकले चितवनको बजार अनुगमन गर्दै आएका थिए । केहि समय बजार संरक्षण अधिकृतको पद रिक्त भएपछि खाद्य निरीक्षक प्रबिण तिवारी एक्लैले बजारको अनुगमन र निरीक्षण गर्दै आउनु भएको थियो । उहाँको पनि सरुवा भएपछि नयाँ टिम आएको चितवनमा नयाँ टिमले कार्यालय खोल्ने बाहेक अरु केही काम गर्न सकेको छैन् । चितवनमा नयाँ कार्यालय सञ्चालन गर्न धेरै समय लागेकाले संयुक्त बजार अनुगमन गर्न नसकिएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत बिक्की राउतले बताउनु भयो ।

अनुगमन गर्नु पर्ने महत्वपुर्ण समय दशंै र तिहारको बिचमा नयाँ टिम चितवन आएको हो । यस बिचमा काम गरेर देखाउनु पर्नेमा उल्टै कार्यालय र घर गर्दैमा टिमले समय बिताएको उपभोत्ता अधिकारकर्मीहरु बताउछन् । आफनो टिमले अहिले सम्म ६ दिन जति अनुगमन गरेको र अन्य दिन अफिस ब्यवस्थापन र अन्य कामले ब्यस्त भएको कार्यालय प्रमुख राउतले बताउनु भयो । आफुहरुले हप्तामा १ दिन अनुगमन गर्ने योजना बनाएको उहाँको भनाइ छ । यस अघिका खाद्य निरीक्षक तिवारीले एक हप्तामा गरेको काम जति पनि अहिलेको जम्बो टिमले डेड महिनामा पनि गर्न सकेको छैन् । यो टिमले अनुगमन गर्ने कुरामा आफुलाई शंका लागेको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका कार्यवाहक अध्यक्ष बिष्णु भुषाल बताउनु हुन्छ । बिगतमा नियमित जस्तै अनुगमन हुने गरेपनि अहिले भने एक दिन गर्ने र हराउने काम भएको उहाँको गुनासो छ । चितवन ठूलो क्षेत्र भएकाले यहाँ नियमित जस्तो गर्नु पर्ने र महिनामा कम्तिमा १५ दिन अनुगमन गर्नु पर्ने भुषालको भनाई छ ।

अहिले झन आफनै कार्यालय भवन र जनशक्ति समेत धेरै हुँदा अनुगमन झन घट्नु दुःखद भएको उहाँ बताउनु हुन्छ । चितवनमा धेरै समस्या रहेकाले अनुगमन नियमित हुनु पर्ने र उपभोत्तालाई सहजता सृजना गर्न तर्फ सबैको ध्यान जानु पर्ने उहाँको भनाई छ । तरकारी बजार , हजाम ब्यापारी , किराना पसल ,कपडा पसल , उद्योग धन्दादेखि होटलहरुमा सबै क्षेत्रमा समस्या रहेको उहाँको भनाइ छ । अनुगमनको नाममा गरेजस्तो गर्ने र फकर्ने कामले उपलब्धि नहुने उपभोक्ताहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्