सौराहामा भोलिदेखि १५ औं हात्ती महोत्सव सुरु हुँदै

  • शरद/प्रकाश,

चितवन, १० पुष । सौराहमा बुधबारबाट हुने हात्ती महोत्सवको सबै तयारी पूरा भएको छ । १५ औ हात्ती महोत्सव क्षेत्रीय होटल संघले गर्न लागेको हो । बाघमारा चौरमा हुने महोत्सवको सबै तयारी पूरा भएको संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो ।

उहाँले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै हात्तीको संरक्षण लागि महोत्सव आयोजना गरिएको बताउनु भयो । महोत्सवको राष्ट्रपति बिद्या देबी भण्डारीले उद्धघाटन गर्नु हुनेछ । महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने प्रतियोगिता, हात्तीको छावाको रोचक फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती श्रृंङ्गार प्रतियोगिता तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिनेछ ।

महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रम आयोजना गरिनेछ । स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुन लागेको हो । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा हात्ती महोत्सवको आयोजना गरेसँगै स्वदेशी र विदेशी पर्यटकले होटल बुक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्