दशगजामा भारतले बनाएको वाटो भत्काउन थालियो,भारतले गल्ती स्वीकार्यो

  • तारा आचार्य

विराटनगर । नेपाल भारतको सीमा क्षेत्र त्यो पनि दशगजामा नै भारतले बनाउन लागेको बाटो भत्काउन शुरु गरिएको छ ।

मोरङको जहदा गाँउपालिका वडा नं. १ कालाबन्जरको दशगजा क्षेत्रमा भारतले बनाउँदै गरेको सडक भत्काएर पुनः पुरानै अवस्थामा फर्काउने सहमति भारतीय एसएसबी र सशस्त्र प्रहरी बल एपीएफ बीच भएपछि बाटो भत्काउन थालिएको हो । मंगलबार बिहान देखि जेसिबी लगाएर सडक भत्काउन थालिएको छ । दुई दिन भित्रमा दशगजा क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने सहमति भएको सशस्त्र प्रहरी बल सुरक्षा बेस बुधनगरका सशस्त्र प्रहरी निरीक्षक भुप बहादुर खड्काले जानकारी दिनुभयो ।

एक साता अघि देखि दशगजा मिचेर भारतीय पक्षले सडक बनाउन थालेपछि स्थानीयले विरोध गर्दै काम रोक्न लगाएका थिए । मुख्यमंत्री गलीनाली योजना अन्तर्गत बिहारका विधायक मंचन केशरीको विधायक फण्डबाट करिब ४ लाख १५ हजार भारुमा दशगजामा नै पिसिसि बाटो निर्माण भईरहेको थियो । करिब ४ फिट अग्लो र करिब २ सय मिटर बाटो निर्माण भइसकेको थियो ।

सीमाक्षेत्रको सुरक्षा गर्ने जिम्मेवारी स्थानीय जनताको समेत भएकाले सिमा क्षेत्रमा हुने गलत गतिविधि रोक्नका लागि सूचना दिन मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्