निर्माण सुरु भएको वर्षौ बित्दा पनि बागलुङका स्वास्थ्य केन्द्र बनेनन्

  • रबिना बोहरा,

बागलुङ । बागलुङमा निर्माण सुरु भएका २४ वटा अस्पताल तथा स्वास्थ्य चौकी भवन सम्झौता सकिएको लामोसमय बितिसक्दा पनि सम्पन्न भएका छैनन् । भवन डिभिजन कार्यालय बागलुङबाट सञ्चालित ४८ आयोजनामध्ये २० वटा ५ बर्षदेखि अलपत्र छन् भने धौलागिरी अञ्चल अस्पतालको भवन १० बर्षदेखि अलपत्र छ ।

बागलुङमा रहेको धौलागिरी अञ्चल अस्पतालको ‘बि’ ब्लकको तीनतले ६६ कोठे भवन निर्माण अवधि सकिएर सात पटक म्याद थप गर्दासमेत निर्माण हुन सकेको छैन । ठेकेदार कम्पनी आशिष÷मिलेनियम÷भिमज्योती÷जयबाबा÷नयाँ बाटो जेभी काठमाडौंले दुई बर्षमा काम सक्ने गरी ७ करोड ३१ लाख रुपैयाँमा २०६६ सालमा काम सुरु गरेको थियो । अस्पतालकै अर्को भवन २०७० सालमा निर्माण सुरु भए पनि ठेकेदारले एक बर्षदेखि काम गर्न छाडेपछि अलपत्र अवस्थामा छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालय बागलुङको भवन २०७० सालमा निर्माण सुरु भए पनि अहिलेसम्म ५० प्रतिशत मात्रै काम सकिएको छ । ७ करोड रुपैंयामा निर्माण गर्ने सम्झौता भएको बुर्तिबाङ जिल्ला अस्पताल भवनको ५ बर्षमा ४० प्रतिशत मात्रै काम भएको छ । जिल्लामा साना–ठूला गरी झण्डै २ दर्जन योजना ठेकेदार कम्पनीकै कारणले अलपत्र छन् ।

यता ठेकेदार कम्पनी भने कागजी प्रक्रिया झन्झटिलो हुने र पहिलेका केन्द्रीय आयोजना प्रदेशले हेर्ने हुँदा सामान्य कामका लागि पनि पोखरा जानुपर्ने बाध्यताले निर्माणमा ढिलाई भएको स्वीकार्छन् ।

अस्पताल तथा स्वास्थ्य चौकी भवन समयमै निर्माण नहुँदा ग्रामीण भेगमा स्वास्थ्य सेवा लिन समस्या हुँदै आएको छ । सामान्य उपचारका लागि पनि सदरमुकाम बागलुङ बजारदेखि पोखरा, काठमाडौं पुग्नुपर्ने बाध्यताकै कारण पनि सम्बन्धित निकायले भवन निर्माण सम्पन्न गर्न तदारुक्ता देखाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्