उत्पादन बढाउन मुस्ताङका स्याउ बोटको धमाधम ‘स्केल कटिङ’

मुस्ताङ । मुस्ताङका किसान यतिबेला स्याउको बोट स्याहार–सुसारमा व्यस्त छन् । स्याहारमा ध्यान दिनसके एउटै बोटले ४० देखि ४५ किलोसम्म फल दिने भएकाले किसान स्याउको ‘स्केल कटिङ’ मा व्यस्त भएका हुन् ।

पचास वर्ष पुराना मुस्ताङका स्याउको बोटको बर्षेनी ‘स्केल कटिङ’ गरिन्छ । मुस्ताङको करिब ४ सय १५ हेक्टरमा लगाइएको स्याउका बोटको पुस लागेपछि धमाधम ‘कटिङ’ गर्न थालिएको हो । ‘स्केल कटिङ’ले उत्पादन र गुणस्तर बढाउन मद्दत गर्छ ।

स्याउका लागि आवश्यक मलजल र ‘कटिङ’ गर्ने उपयुक्त मौसम भएकोले अहिले किसान व्यस्त छन् । स्थानीय सरकारले स्याउको संरक्षणसहित उत्पादन बढाउन आवश्यक सहयोग गर्दै आएका छन् । यसअघि गाविसले दिँदै आएको आएको सेवा–सुबिधा अहिले गाउँपालिकाका वडा कार्यालयले प्रदान गर्छन् ।

‘स्केल कटिङ’ले सूर्यको प्रकाश सजिलै प्राप्त गर्न र किटाणुबाट टाढा रहन मद्दत गर्छ । कटिङसँगै स्याउभित्र फैलिएका चोर र किराले खाएका हाँगाविँगाको व्यवस्थापन गरिन्छ । जसका लागि दक्ष जनशक्ति चाहिने प्राविधिक बताउँछन् ।

पछिल्लो समय भुवादार लाइकिरा, जिजिनामतजस्ता अत्यन्तै हानिकारक किटाणुले स्याउका बोटमा हानी पु¥याएको छ । जसले उत्पादन र गुणस्तरमा ह्रास आएपछि यो मौसममा स्याउलाई ‘कटिङ’ गर्न उपयुक्त मानिएको हो ।

प्रतिक्रिया दिनुहोस्