नेपालीले भारतीय बजारमा गर्ने किनमेलको सीमा तोकियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतीय बजारमा नेपालीले गर्ने किनमेलको सीमा तोकेको छ । केन्द्रीय बैंकले मंगलबार निर्देशन जारी गर्दै कार्डमार्फत हुने भुक्तानीमा कडाइ गरेको हो ।

भारतीय बजारमा कार्डबाट हुने किनमेलमा समेत राष्ट्र बैंकले कडाइ गरेको छ । सरकारले भारतिय दरका १०० माथिका नोट कारोबारमा प्रतिबन्ध लगाएको दुई सातापछि केन्द्रीय बैंकले भारतीय बजारमा नेपालीले गर्ने भुक्तानीमा कडाइ गरेको हो । शोधनान्तर र चालु खाता घाटा बढेर धान्नै नसक्ने अवस्था आएपछि केन्द्रीय बैंकले स–साना खर्चहरुमा पनि कडाइ थालेको हो ।

भारतमा क्रेडिट, डेबिट र प्रिपेड कार्डलगायत इलेक्ट्रोनिक कार्डको माध्यमबाट पस वा अन्य विद्युतीय प्रणालीमार्फत बस्तु तथा सेवा खरीद गर्दा गरिने भुक्तानीमा मासिक सीमा थिएन । अब मासिक १ लाख भारतिय रुपैयाँभन्दा बढि भुक्तानी गर्न मिल्दैन । तर होटल, हस्पिटल र औषधि पसलमा गरिने भुक्तानीमा भने सीमा तोकिएको छैन । यसअघि विदेश जाँदा लैजान पाइने रकमको सीमा झारिएको थियो । २ हजार ५ सय डलरसम्म लैजान पाइनेमा झारेर १ हजार ५ सय डलर पारिएको थियो । तेस्रो मुलुकपछि भारतीय बजारमा हुने किनमेलमाथि अंकुश लगाइएको हो ।

केन्द्रीय बैंकले विदेशी मुद्राको ऋणमा लिने ब्याजमा पनि अंकुश लगाएको छ । बैंकहरुले विदेशी मुद्राको निक्षेपमा शुन्य दशमलव ४ प्रतिशतदेखि २ दशमलव ६ प्रतिशतसम्म ब्याज दिने गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्