पशुको कृत्रिम गर्भाधानमा कृषक आकर्षित

  • कृष्ण दवाडी

कास्की (रासस) । स्थानीय जातका पशुको कृत्रिम गर्भाधान गरी नश्ल सुधार गर्न कृषक आकर्षित भएका छन् । परम्परागत पशुपालनबाट व्यावसायिकतामा फड्को मार्दै गरेको नेपालको पशुपालनमा कृतिम गर्भाधान सेवा विस्तार भएसँगै पशु गर्भाधानको लागि राँगो तथा साँढेको विकल्पमा कृत्रिम गर्भाधान सेवा प्रभावकारी बन्दै गएको छ ।

नेपालमा विसं २०१७ बाट फ्रोजन सिमेन(वीर्य)बाट कृत्रिम गर्भाधानको कार्य आरम्भ भए पनि २०५० सालपछि मात्र यसले राजधानी बाहिर व्यावसायिकता लिएको बताइन्छ । गाउँगाउँसम्म प्राविधिकको पहुँच तथा गर्भाधानको लागि सिमेनको सहज उपलब्धताको कारणबाट पनि आफ्ना पशुमा कृत्रिम गर्भाधान गराउन कृषक आकर्षित भएको पाइन्छ ।

साविक जिल्ला पशु सेवा कार्यालय तथा हालको भेटेरीनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कास्कीका अनुसार २०७०/७१ मा जिल्लामा गाई नौ हजार १६९ र भैँसी चार हजार ८४२ वटा गरी कूल १४ हजार ११ पशुमा कृत्रिम गर्भाधान गरिएको थियो ।

त्यस्तै २०७१/७२ मा गाई १० हजार २०३ र भैँसी पाँच हजार २११ पुग्यो । आफ्ना पशुको कृत्रिम गर्भाधान गराउने कृषकको सङ्ख्या बढेसँगै २०७२÷७३ मा यो सङ्ख्या बढेर गाई १० हजार ५०८ तथा भैँसी पाँच हजार ५०७ पुग्यो ।

आर्थिक वर्ष २०७३÷७४ मा गाई ११ हजार ५९९,भैसी सात हजार ९२३ तथा वर्ष २०७४/७५ मा गाई १४ हजार १६६ तथा भैँसी आठ हजार ५२३ वटा गरि कूल २२ हजार ६८९ वटामा कृत्रिम गर्भाधान गरिएको कार्यालयका प्रमुख तथा पशु चिकित्सक ठगेन्द्रप्रसाद अर्यालले जानकारी दिनुभयो ।

आर्थिक वर्ष चालु आर्थिक वर्षका मङ्सिर महीनासम्ममा गाई आठ हजार ११३ र भैँसी चार हजार १० गरी जम्मा १२ हजार १२३ पशुको कृत्रिम गर्भाधान गरिएको कार्यालयको तथ्याङ्क छ । कृत्रिम गर्भाधानबाट उन्नत जातको पशु उत्पादन हुने तथा दूध उत्पादन पनि बढ्ने भएपछि किसान कृत्रिम गर्भाधानप्रति आकर्षित भएको अर्याल बताउनुहुन्छ ।

“कृत्रिम गर्भाधानबाट दूध पनि बढी उत्पादन हुने, दुई/तीन वर्षसम्म राँगो, साँढे पाल्ने झन्झट नहुने र नश्ल पनि सुधार हुनेभएपछि कृषक यसमा आकर्षित छन्” अर्यालले भन्नुभयो । जिल्लामा पशु गर्भाधानको लागि राँगो, साँढे पाल्ने चलन कहीँकतै बाहेक हराउँदै गएको र पछिल्लो समय बाख्रा तथा बङ्गुरमा पनि कृत्रिम गर्भाधान गर्ने अभ्यास शुरु गरिएको उहाँ बताउनुहुन्छ ।

जिल्लाका देउराली, रुपाकोट, ल्वाङघलेल, शिशुवा, बिरौटा, माटेपानी, हेम्जा ढिकुरपोखरी, पामे, कृस्तिनाच्नेचौर र आर्वा गरी १५ स्थानबाट सेवा प्रदान गरिरहेको कार्यालयले बताएको छ । गर्भाधानको लागि जिल्लामा ३७ जना प्राविधिक जनशक्ति रहेको छ । यसमा संलग्न सरकारी १८ र निजी १९ जना प्राविधिकले कृषकको गोठ तथा फार्मसम्म पुगेर सेवा दिँदै आएका छन् ।

एउटा पशुमा गर्भाधान गराएको प्राविधिकले रु ३०० देखि एक हजारसम्म लिने गरेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठ बताउनुहुन्छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा पालिएका गाईको जर्सी, होलिस्टेन, भैँसीको मुर्रा तथा बाख्राको बोयर र सानान जातको साँढे, राँगो तथा बोकाको हप्तामा दुई पटक वीर्य सङ्कलन गर्ने र सङ्कलित वीर्य प्रशोधन गरेर पशु सेवा कार्यालयमार्फत जिल्लाजिल्लामा किसानलाई गर्भाधानको लागि वितरण गर्ने गरिएको कार्यालयका वरिष्ठ पशु विकास अधिकृत शम्भु पाण्डे बताउनुहुन्छ ।

प्रजनन केन्द्रले प्रतिडोज रु २५ राजश्व लिएर कृषकलाई उपलब्ध गराउने गरेको उहाँको भनाइ छ । कार्यालयमा वर्षको छ लाख ५० हजार डोज वीर्य उत्पादन गरेर बिक्री वितरण हुँदै आएको पाण्डेको भनाइ छ । देशका ६६ जिल्लामा ९७३ गर्भाधान केन्द्रमार्फत एक हजार १४१ जना प्राविधिक पशुको कृत्रिम गर्भाधान कार्यमा आवद्ध रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्