एन्फा निर्वाचनमा अनियमितता भएको टेप सार्वजनिक, ‘निर्वाचन समितिलाई ज्यान मार्ने धम्की समेत !’

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को यसैवर्ष सम्पन्न निर्वाचनमा भ्रष्टाचार र अनियमितता भएको भनिएको अडियो टेप सार्वजनिक गरिएको छ ।

आज (बुधबार) राजधानीमा पत्रकार सम्मेलन गर्दै काठमाडौं, भक्तपुर, ललितपुर र धादिङ, चार जिल्लाका फुटबल संघका अध्यक्षहरुले एन्फाको वर्तमान नेतृत्वमा रहेका केही व्यक्तिले चुनावको परिणाम आफ्नो पक्षमा पार्न लागि गरेका अनियमितताका विषयमा गरिएको कुराकानीसहितको अडियो टेप सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको अडियो मार्फत मताधिकारप्राप्त प्रतिनिधिलाई आर्थिक प्रभावमा पारिएको, निर्वाचनअघि ठूलो धनराशी खर्च गरेर मतदातालाई भारतको सिक्किममा लगेर क्लोज क्याम्पमा राखिएको, निर्वाचन आफ्नो पक्षमा पार्न निर्वाचन समितिलाई ज्यान मार्ने धम्की दिइएको, अदालतमा समेत आर्थिक चलखेलमार्फत् प्रभाव पार्न खोजिएको कुरा सार्वजनिक गरिएको छ ।

यस अडियो टेपलाई भक्तपुरका अध्यक्ष गौतम सुखजु, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा, काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष एवं एन्फाका पूर्व कोषाध्यक्ष विराटजंग शाही र धादिङका अध्यक्ष दीपक खतिवडाले सार्वजनिक गरेका हुन् ।

अडियो टेप सार्वजनिक गर्ने क्रममा अध्यक्ष गौतम सुखजु, पुरुषोत्तम थापा, पूर्व कोषाध्यक्ष विराटजंग शाही र अर्का अध्यक्ष दीपक खतिवडाले विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको सार्वजनिक लेखा समिति र राष्ट्रिय खेलकुद परिषद्मा पनि प्रमाणसहित उजुरी गर्ने बताएका छन् ।

उनीहरुका अनुसार फिफाको कोड अफ इथिक्सले अडियो रेकर्डलाई पनि प्रमाण मान्ने भएकाले वर्तमान एन्फा नेतृत्व कारवाहीमा पर्नेछन् । अडियो सार्वजनिक गर्ने क्रममा चार जिल्लाका अध्यक्षहरुले वर्तमान एन्फा नेतृत्व फुटबल विकास भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त रहेको समेत आरोप लगाएका छन् ।

एन्फाको निर्वाचन हुनुअगाडि अध्यक्ष पदका उम्मेवदार मणि कुँवरले गत वैशाख २२ गते निर्वाचनमा व्यापक अनियमितता भइरहेको भन्दै उम्मेदवारी फिर्ता लिएका थिए । यसका साथै यसैगरी काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष शाहीलगायतले पनि निर्वाचन रोक्न अदालतमा मुद्दा दर्ता गराएका थिए ।

अर्को तर्फ निर्वाचनमा कर्माछिरिङ शेर्पाको नेतृत्वमा उनको पूरा प्यानल अत्यधिक बहुमतले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्