पार्टीभित्र सत्ता र प्रतिपक्षको अभ्यास भइरहेको भन्दै नेकपा अध्यक्ष दाहाल असन्तुष्ट

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र सत्तापक्ष र प्रतिपक्षको अभ्यास भइरहेको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।

स्थायी कमिटी बैठकमा सदस्यले राखेका प्रश्नको आज जवाफ दिनेक्रममा अध्यक्ष दाहालले सहमति र समझदारीबाट पार्टी सञ्चालन गर्न स्थायी सत्तापक्ष र प्रतिपक्षको जस्तो अभ्यास अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको हो । बैठकमा सदस्यहरुको प्रस्तुति आवेगात्मक रहेको टिप्पणी गर्दै अध्यक्ष दाहालले सबै विवाद र पार्टी एकताको बाँकी प्रक्रिया टुङ्गो लगाउन पुस मसान्तसम्मको म्याद दिएर कार्यदल बनाउने प्रस्ताव पनि गर्नुभएको छ । पुसभित्र जिल्ला कमिटी र भ्रातृ संगठनको एकता सकेर माघ–फागुनमा देशव्यापी पार्टी सुदृढिकरण अभियान चलाउनु पर्ने दाहालको प्रस्ताव छ ।

सरकारले दीर्घकालिन महत्वका कामसहित केही कमिकमजोरी गरेको स्वीकार्दै अध्यक्ष दाहालले गल्ती सच्याउँदै अगाडि बढ्नुको विकल्प नरहेको, पार्टी र सरकारबीच समन्वय बढाउन जरुरी रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग असमझदारी नहोस् भन्नेमा आफू सचेत रहेको बताउनु भयो । दुई जना पार्टी अध्यक्षका कारण केही समस्या भएको हुनसक्ने भन्दै उहाँले पूर्वएमाले र पूर्वमाओवादीका राम्रा कुराबाट सिकेर पार्टीलाई सामुहिक नेतृत्वमा अगाडि बढाउनु पर्नेमा पनि जोड दिनुभयो । अध्यक्ष दाहालको धारणाले धेरै समस्याको समाधान नजिक ल्याएको नेताहरुले औंल्याएका छन् ।

एकता अघि दुवै पार्टीमा रहेका गुटलाई त्यहीरुपमा चित्रित गर्न नहुने भन्दै अध्यक्ष दाहालले आन्तरिक एकतालाई बढवा दिन नेताहरुलाई आग्रह गर्नुभयो । भोलि पनि बस्ने बैठकमा प्रधानमन्त्रीसमेत रहनु भएका अर्का अध्यक्ष ओलीले सदस्यहरुका प्रश्नको जवाफ दिनुहुने छ ।

प्रतिक्रिया दिनुहोस्