बझाङ र बैतडीमा पीपीआर रोग फेलाः सयौंको संख्यामा भेडा बाख्रा मरे

  • रिदम सिंह,

बझाङ । बझाङ र बैतडी जिल्लामा पीपीआर रोग फेला परेको छ । बाख्रा र भेडाका देखिने यो रोग केही समय अघि मात्रै फेला परेको हो । यस रोगका कारण बझाङ जिल्लामा ९५ भन्दा बढी भेडाहरु मरीसकेका छन्, भने यस्तै बैतडीमा ८६ वटा भेडा मरेको जनाईएको छ ।

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीमा रोग पत्ता लागेको हो । यो रोग बझाङ जिल्लाको साईपाल गाँउपालिकामा बढी देखा परेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङका निमित्त कार्यलय प्रमुख बाल्मीकी प्रसाद जोशीले बताए । उनका अनुसार माधवीर रोकाया, राम बहादुर जेठारा, वीर बहादुर बोहरा, कृष्ण बोहरा र नवराज बोहराले पाली राखेका ९५ भेडाहरु मरेका हुन् ।

अहिले यो रोग बझाङ र बैतडीका सीमाना बढी देखा परेको जोशील बताए । यस्तै यस रोगका कारण बैतडीको सिगास गाँउपालिकामा ८५ भन्दा बढी भेडा बाख्रा मरी सकेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका पशु स्वास्थ्य प्राविधिक विसन सिहँ विष्टले बताए । उनका अनुसार रोग नियन्त्रण गर्नका लागि पीपीआर विरुद्धको भ्याक्सिन खरिद गरी मंगलबारबाट जिल्ला भरी भ्याक्सिन लगाउने काम भै रहको छ ।

बैतडीका लागि २० हजार डोज भ्याक्सिन मगाईएको छ । जसमा १० हजार डोज बैतडीका लागि र १० हजार डोज दार्चुल्लाका लागि प्रयोग गरिने विष्टले बताए । दार्चुल्लामा यो रोग देखा नपरे पनि पुर्व तयारीका लागि भेडा बाख्रामा भ्याक्सिन लगाईने विष्टको भनाई छ ।

यस्तै यता बझाङ जिल्लाका लागि समेत १० हजार डोज भ्याक्सिन भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङले खरिद गरी सकेको निमित्त कार्यलय प्रमुख वाल्मीकी प्रसाद जोशीले बताए । साईपाल गाँउपालिकामा बढी जस्तो यो रोग देखा परेका कारण यसको रोगथामका लागि ८ हजार डोज भ्याक्सिन दिएर बुधबार ६ जनाको टोलीसहित साईपाल गाँउपालिकामा पठाईएको जोशीले बताए ।

यस्तै जिल्लाको तमैल बजार, डोड्याका खेतका समेत एक एक टोली ६.६ सय भ्याक्सिनको डोज सहित परिचालन गरिएको छ । यो एउटा भाईरस भएका कारण एकै समयमा धेरै जस्तो भेडा बाख्रा रोग देखा पर्न सक्ने पशु स्वास्थ्य प्राविधिकहरुले बताएका छन् । यो रोग लागिसकेपछि उपचार गर्नु भन्दा पूर्व तयारी गरी भेडा बाख्रामा भ्याक्सिन लगाउन आवष्यक रहेको जोशील बताए ।

प्रतिक्रिया दिनुहोस्