स्वास्थ्य चौकीमा कर्मचारीको मनमौजी,सेवाग्राही शुन्य

  • रामहरि श्रेष्ठ

ओखलढुंगा । ओखलढुंगाको सदरमुकाम नजिकै रहेको ओखलढुंगा स्वास्थ्य चौकीमा कर्मचारीहरुको मनपरी मौलाएको छ । कार्यलय समयमा कर्मचारी नबस्ने,भएका समेत पालो गरी छुट्टी बस्ने तथा तीन दिनमा एक दिन आएर हाजिर गर्ने र सेवाग्राही पुग्दा समेत औषधी नभएको भनी फर्काउने गरेको पाईएको छ ।

कर्मचारीहरु कै लापरबाहीका कारण सिद्धिचरण नगरपालिकाको वडा नम्बर ११ मा रहेको स्वास्थ्य चौकी प्राय सुनसान जस्तै बनेको हो । स्वास्थ्य क्षेत्रमा कर्मचारीहरुको यस्तो लापरबाहीका कारण स्वास्थ्य संस्थाप्रती बिरामीहरुको समेत बिश्वास घटेको छ ।

अहिले स्वास्थ्य चैकीमा बिरामीहरु जानै छाडेपछि अस्पताल सुनसान बनेको छ । उक्त स्वाथ्य चौकीमा जाने सेवाग्राहीहरु बजार आसपासका अन्य स्तरीय स्वास्थ्य संस्था तथा क्लिनिकहरुमा जान बाध्य भएका छन् । स्वास्थ्य चौकीमा कर्मचारीहरुको यस्तो मनमौजीप्रती सजग गराउदाँ उनीहरु आक्रोशित हुने गरेको सिद्धिचरण नगरपालिका ११ का वडा अध्यक्ष तथा स्वास्थ्य संयोजक बिनोद केसीले बताउनुभयो ।

उहाँले अस्पतालको अवस्था दयनिय रहेको भन्दै सुधारको प्रयास भैरहेको बताउनुभयो । अस्पतालमा सेवाग्राहीलाई आकषर्ण गर्न तथा कर्मचारीलाई नियमीत गराउनका लागी पहल भैरहेको उहाँको भनाई छ । ओखलढुंगा स्वास्थ्य चौकीमा कर्मचारीहरु नभेटिने तथा सेवाग्राही समेत नजाने गरेको गुुनासो आएपछि नगरपालिकाले अनुगमन समेत गरेको छ ।

बुधबार नगरपालिकाका उपमेयर ईच्छा कुमारी गुरुङ तथा प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा,नगरपालिकाका स्वास्थ्य संयोजक आईत बहादुर राई सहितको टोलीले अनुगमनका क्रममा अस्पतालमा कर्मचारीहरु नभेटिएको तथा सेवाग्राही समेत नजाने गरेको पाईएको उपमेयर ईच्छा कुमारी गुरुङले बताउनुभयो ।

जसका कारण सदरमुकाम नजिकै रहेको स्वास्थ्य चौकी सुनसान बनेकोमा उहाँले चिन्ता ब्यक्त गर्नुभयो । स्वास्थ्य चौकीलाई सञ्चालका लागी बिशेष सेवा योजना ल्याउन तथा कर्मचारीहरुलाई समेत जिम्मेवार बन्न आग्रह गरिएको उहाँको भनाई छ । वर्थिङ सेन्टर सहित सञ्चालमा रहेको स्वास्थ्य चौकीमा हाल स्थाई दरवन्दीका चारजना सहित ६ जना कर्मचारी कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्