सञ्चारमन्त्री बास्कोटको निर्देशनपछि प्राधिकरणका अध्यक्ष झाले राजीनामा दिए

काठमाडौं । दीगम्बर झाले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षबाट राजीनामा दिनुभएको छ । नियुक्तिसँगै सुरु भएको आलोचना बढ्दै गएपछि झाले आज राजीनामा दिनुभएको हो । झाले आजै पत्रकार सम्मेलन गरेर आफ्नो कारणले सरकारको बदनामी भएको भए पद त्याग गर्ने बताउनु भएको थियो ।

लगत्तै उहाँले राजीनामा दिनुभएको हो । झा शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा पनि प्राधिकरणको अध्यक्ष हुनुहुन्थ्यो । तर, केपी शर्मा ओली नेतृत्वको सरकारले निर्वाचन आचार–संहिता लागू भएपछि देउवा सरकारले गरेका निर्णय खारेज गर्दा झा पनि पदमुक्त हुनुभएको थियो ।

सर्वोच्चको अन्तरिम आदेशपछि केही दिन जिम्मेवारीमा फर्किए अन्तिम फैसला नआउँदै मुद्दा फिर्ता लिनुभएका झालाई सरकारले भदौ २१ गते प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो ।

झालाई बर्खास्त गर्न माग गर्दै नेकपाका केन्द्रीय सदस्यले पार्टीमा ज्ञापनपत्र बुझाएका थिए । स्थायी कमिटी बैठकमा समेत झाको नियुक्तिलाई लिएर सरकार र पार्टी नेतृत्वको आलोचना भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको आग्रहमा झाले राजीनामा गर्नुभएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्