राजधानी बुटवल कि दाङ भन्ने झगडाले मन्त्रिपरिषद निष्कर्षविहीन

सत्तारूढ नेपाली काँग्रेसकै नेताहरु प्रदेश राजधानीको विषयलाई लिएर विभाजित भएपछि बिहान १० बजे बसेको मन्त्रिपरिषद निष्कर्षविहीन भएको हो। अर्को बैठक अजै दिउँसो ३ बजे बस्नेछ।

बैठकका सहभागी काननुमन्त्री यज्ञबहादुर थापाले ३ बजे बस्ने मन्त्रिपरिषदले प्रदेश प्रमुख र अस्थायी प्रदेश राजधानी तोक्ने जानकारी दिए।

‘अहिले खाना खाने ब्रेक भएको हो’, मन्त्री थापाले नेपालखबरसँग भने, ‘तीन बजे फेरि बैठक बस्छ। मन्त्रिपरिषदले आजै सातै राजधानी र प्रदेश प्रमुख तोक्छ।’

सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका अनुसार मन्त्रिपरिषदमा आन्तरिक मत ऐक्यता नदेखिएपछि पुनः बस्नेगरी बैठक स्थगित गरिएको हो।

‘आन्तरिक मतभेद देखियो। तीन बजेको बैठकले निर्णय लिन्छ’, उनले भने।

काँग्रेस नेता दीपक गिरीले प्रदेश पाँचको राजधानी बुटवल नभई दाङ हुनुपर्ने अडान राख्दै अएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा निकटका बालकृष्ण खाँडसहितका नेताहरु बुटवल हुनु पर्ने अडानमा छन्। यो विषयमा काँग्रेसभित्रै सहमति हुन नसक्दा मन्त्रिपरिषद बैठक निष्कर्षबिहीन भएको हो।

यता सरकारले प्रदेश पाँचको अस्थायी राजधानी बुटवल तोक्न प्रस्ताव गरेपछि दाङमा आन्दोलन चर्किएको छ। दाङलाई प्रदेश राजधानी बनाउनु पर्ने भन्दै बुधबार बिहानैदेखि आन्दोलनकारीले जिल्ला ठप्प पारेका छन्। बन्दका कारण दाङको यातायात, शिक्षण संस्था, बजार ठप्प छन्। दाङबाट बाहिरिने र भित्रिने कुनै पनि सवारी साधन चल्न सकेका छैनन्। बन्दका कारण पूर्व पश्चिम महेन्द्रराजमार्ग ठप्प छ। देउखुरीस्थित लमहीमा आन्दोलनकारीले राजमार्ग अवरुद्ध पारेर प्रदर्शन गरिरहेका छन्। राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन्।

प्रतिक्रिया दिनुहोस्