इयु उड्डयन समितिमा नेपालको कालो सूचीसम्बन्धी निर्णायक छलफल

ल्जियमको ब्रसेल्समा जनवरी १९ मा हुने युरोपेली युनियन (इयु) उड्डयन सुरक्षा समिति बैठकमा नेपाली उड्डयन क्षेत्रको कालोसूचीसम्बन्धी एजेन्डामा छलफल हुने भएको छ।

युरोपको कालो सूचीबाट बाहिर निस्किन प्रयास गरिरहेको नेपालले सो बैठकमा आफ्नो तर्फबाट गरेका सुधार प्रयासहरु प्रस्तुत गर्ने तयारी गरेको छ।

सो बैठकमा सहभागी हुन नेपाली उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमको नेतृत्वमा प्राविधिकसहित ६ जनाको टोली बुधबार युरोप प्रस्थान गर्दैछ।

गौतमसहित नेपाली टोलीमा उपमहानिर्देशक राजन पोखरेल, उपनिर्देशक राजु श्रेष्ठ, क्याप्टेन दिपक लामा, उपप्रबन्धक रितेस राज पन्त र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामेछाने सहभागी छन्।

इयु उड्डयन सुरक्षा समितिको गत नोभेम्बर १३ देखि १५ मा नेपाललाई कालो सूचीबाट हटाउने एजेन्डाले प्रवेश पाएको थियो। सो बैठकमा नेपाली प्रतिनिधिमण्डल नबोलाई छलफल गरिएको थियो। सोही बैठकको निर्णयका आधारमा इयु उड्डयन सुरक्षा समितिले नेपाली पक्षलाई बैठकका लागि बोलाएको हो।

बैठकमा नेपाली पक्षले कालोसूची हटाउनका लागि गरेका गृहकार्यहरू दफावार रूपमा प्रस्तुत गर्ने प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए।

सुरक्षा मापदण्ड पूरा नगरेको भन्दै २०१३ देखि इयुले नेपाली हवाइ जहाजहरूलाइ युरोप प्रवेशमा रोक लगाउँदै आएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले पहिलो पटक नेपालमा सन् २००९ मे महिनामा आठ क्षेत्रको विस्तृत उडान सुरक्षा अडिट गरेको थियो। तिनमा हवाई कानुन, संगठन स्वरुप, इजाजत पत्र, वायुयानसम्बन्धी अप्रेसन, एयर वर्दिनेस, दर्घटना जाँच, विमानस्थल सञ्चालन र एयर नेभिगेसन सुरक्षा रहेका थिए। त्यतिबेलाको अडिट प्रतिवेदनमा मापदण्ड पालनाको दर ४३ प्रतिशत देखिएको थियो। सन् २०१३ को जुलाईमा आइकाओकै टोलीले अडिट गर्दा नेपालको उडान सुरक्षा मापदण्ड परिपालनको दर ५५ प्रतिशत देखाएको थियो।

प्रतिक्रिया दिनुहोस्