‘किड्नी फेल’ भएपछि गिद्ध लोपोन्मुख

अन्टार्टिका र अस्ट्रेलियाबाहेक गिद्ध संसारभरि पाइन्छन् । सन् १९८० ताका नेपालमा १६ लाख गिद्ध रहेको अनुमान गरिएको थियो । त्यतिबेला लाखमा रहेका गिद्ध हजारमा झरिसकेका छन् ।

प्रकृतिका कुचिकार भनिने गिद्ध मांशाहारी भए उसले सिनोमात्रै खान्छ । ‘गिद्धले आफैं सिकार गर्दैन,’ गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले भने, ‘उसले सिनो खाएर प्रकृति स्वच्छ राख्छ । कुनै जनावर मरेपछि छिटोभन्दा छिटो खाएर वातावरण दुर्गन्धित बन्न दिँदैन ।’

गिद्धले कुशलतापूर्वक सिनो खपत गरेजस्तो अरूले गर्न सक्दैनन् । ‘गिद्ध भएनन् भने कुकुर, स्यालले पनि सिनो खान्छन्,’ गिद्ध संरक्षण कार्यक्रम अधिकृत भुसालले थपे, ‘तर, उनीहरूले धेरै दिन लगाएर खाने गर्छन् । त्यसो भएपछि दुर्गन्ध फैलन्छ । कुकुर र स्यालबीच सिनोमा लुछाचुँडी होला । दुर्गन्ध फैलिएपछि झिँगा भन्कन्छ । हैजा, रेविज आउँलगायत संक्रमण फैलन सक्छ । त्यस्तो हुन नदिन गिद्धको अहम् भूमिका रहेको छ ।’

हिन्दु धर्मावलम्बीले गिद्धलाई शनिको वाहनका रूपमा लिएका छन् । रावणले हरण गरेर लंका लैजाँदा सीता बचाउन जटायुले अन्तिम समयसम्म प्रयास गरेको रामायणमा उल्लेख छ । त्यतिमात्रै होइन, नेपालका विभिन्न समुदायका संस्कार, संस्कृति र धर्मसँग गिद्ध जोडिएका छन् । मनाङ, मुस्ताङ, डोल्पा, हुम्लालगायत उच्च हिमाली क्षेत्रका लामा समुदायमा जोकोहीको निधन हुँदा गिद्धलाई शव खुवाउने प्रचलन विद्यमान छ । सांस्कृतिक रूपमा त्यस्तो प्रचलन रहे पनि यसको वैज्ञानिक कारण पनि भेटिन्छ । ‘उच्च हिमाली जिल्लामा शव जलाउन दाउरा हुँदैन । भूक्षय भइरहने भएकाले शव राम्ररी गाडिँदैन,’ उनको तर्क छ, ‘बगाउन सम्भव छैन । त्यस्तो ठाउँमा दाहसंस्कार गर्ने उत्तम विकल्प भनेको शव गिद्धलाई खुवाउनु हो ।’ हिमाली क्षेत्रमा बसोवास गर्ने तिब्बतियन समुदायले गिद्धलाई मृतकको आत्मा स्वर्ग पुर्याउने दूतका रूपमा पुज्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्