एरिक भेल्लीको निर्देशनमा तयार वृत्तचित्र ‘वियोण्ड द क्लाउड’ नेपालमा प्रिमियर

काठमाडौं । ओस्कार नोमिनेटेड फ्रान्सेली निर्देशक एरिक भेल्लीको निर्देशनमा तयार वृत्तचित्र ‘वियोण्ड द क्लाउड’को नेपालमा प्रिमियर गरिएको छ । आइतबार काठमाडौंको कुमारी हलमा आयोजित प्रिमियरमा वृत्तचित्रले प्रशंसा बटुलेको छ ।

‘हनि हन्ट’, ‘क्याराभान’जस्ता उत्कृष्ट नेपाली वृत्तचित्रहरु निर्माण गरी नेपाली परिवेशलाई विश्वभर चिनाउँदै आएका एरिकको यस वृत्तचित्रमा भूकम्पपछिको ग्रामिण हिमाली जनजीवनलाई देखाइएको छ । वृत्तचित्रमा गाँउकै वास्तविक पात्रहरु १५ वर्षीय २ किशोरहरु राज गुरुङ, शिव गुरुङ र ६६ वर्षीय छेवाङ गुरुङ केन्द्रीय भूमिकामा छन् ।

प्रिमियरमा नेपाली तथा विदेशी चलचित्रकर्मी, सञ्चारकर्मी तथा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । एरिकको ‘वियोन्ड द क्लाउड’मा गोरखा जिल्लाको हिमाली क्षेत्र सामा गाँउदेखि मनास्लु ट्रेकिङ आसपास लार्के पार्क गाँउ हुँदै मनास्लु बेसक्यापसम्मको यात्रा, सोही भेगका वास्तविक पात्र र दृष्यहरु प्रस्तुत गरिएको छ ।

भूकम्पपछि त्यहाँका मानिसले दैनिक जीवनयापन गर्न तथा पुनर्निमार्णका लागि गरेको संघर्षको कथा वृत्तचित्रको केन्द्रमा राखिएको छ । प्रिमियरपछि निर्देशक तथा निर्माता एरिकले नेपाल र नेपालीप्रतिको आफ्नो माया, सद्भाव सदैव रहने गरेका कारण यसप्रकारको प्रोजेक्टमा काम गरेको बताए । वृत्तचित्र अक्टोबर २६बाट नेपाली सिनेमा हलहरुमा प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्