नेपाली काँग्रेस संस्थापन इतर समूहको अलगै बैठक

काठमाडौँ । नेपाली काँग्रेस संस्थापन इतर समूहको अलगै बैठक बसेको छ । सभापति शेरबहादुर देउवा पक्ष पेल्ने नीतिमा रहेको निश्कर्ष निकाल्दै पार्टीको विधानमा छलफल गरेको हो ।

काँग्रेस महामन्त्री शशांक कोइरालाको निवासमा बसेको बैठकमा विधानको विषयमा छलफल भएको बताइएको छ । नेपाल विद्यार्थी संघको विवाद, पार्टी सभापतिलाई शक्तिशाली बनाउने गरी विधान संशोधनको तयारी लगायतका विषयमा आफ्नो धारणा तय गर्न छलफल भएको काँग्रेस नेताले जानकारी दिएका छन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, नविन्द्रराज जोशी, धनराज गुरुङ, दिलबहादुर घर्तीलगायतका नेताहरु सहभागी थिए ।

नेविसंघको विधानलाई पार्टीले अनुमोदन गर्ने क्रममा केन्द्रीय समितिमा विवाद भएसँगै पार्टीमा थप ध्रुविकरण सुरु भएको छ । संस्थापन पक्षले बहुमतको आधारमा उमेर हद कायम गरेपछि चार शिर्ष नेताले फरक मत राखेका थिए । गत बिहीबारको लागि डाकिएको केन्द्रीय समितिको बैठकलाई संस्थापन इतर समूहले बहिष्कार गर्ने चेतावनी दिएपछि अनिश्चित कालको लागि बैठक स्थगन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्