“आफू जलेर उज्यालो छर्न चाहन्छु”

२९ असोज । संसार गतिशील छ । गति र समयको चक्रभित्र सजिव, निर्जिव, वैज्ञानिक, मनोवैज्ञानिक जस्ता सम्पुर्ण कुराहरु पर्दछन् । मानवजाति संसारको विशाल परिचक्र भित्र घुमिरहेको छ । जन्म र मृत्यु अनिवार्य सर्त हो ।

जसलाई हामीले बसमा राख्न सक्दैनौं, प्रकृतिसँग संघर्ष गर्दै मानिसले जीवन बाँचेको हुन्छ । सुन्दर जीवनलाई सफल बनाउनु हाम्रो दायित्व हो । मानवीय दायित्वलाई पुरा गर्न सक्नु नै जीवनलाई सफल बनाउनु हो ।

मानवीय अस्तित्वको निर्माण अर्थात संसारमा सुनौलो बिहानीको बिजारोपणमा यथायोग्य भूमिका नै सफल जीवनको अनुभुती हो ।

विहानी एउटा सुन्दर परिकल्पना हो । यो कसैका लागि पनि अप्रिय हुदैन, तर सबैका लागि सहज पनि छैन, विहानी भविष्य हो । जसलाई सुनौलो बनाउन वर्तमानको भूमिका महत्वपूर्ण हुन्छ । वास्तविक धरातलबाट हेर्ने हो भने वर्तमान सबै मानिसका लागि अध्यारो हो ।

हामीले अध्यारोलाई अस्वीकार गर्न सक्दैनौ, किनकी अध्यारो नै विहानीको ढोका हो । अध्यारोको कल्पनाले मात्रै पनि मानिसहरु अत्तालिन्छन् । अँध्यारोसँग डराउनेहरु त झन डिप्रेशनको शिकार बन्छन् । विहानीको कल्पना पनि गर्न नपाउदै संसारबाट बिदा लिन्छन् । तर जो मानिसले अँध्यारोलाई स्वीकार गर्न सक्छन्, उनिहरुको लागि विहानी केबल प्रतिक्षाको घडी हो ।

मानव जीवन निश्चित नियम भित्र चलेको छ । यस भित्रका सकारात्मक र नकारात्मक कुराहरुलाई रोक्नु वा परिवर्तन गर्नु नै गतिशील जीवन प्राप्त गर्नु हो । विज्ञान र आध्यात्मिक दर्शनले जीवनलाई चलायमान गराएको यसप्रतिष्पर्धात्मक युगमा हामी दौडिरहेका छौं ।

नेपाल एउटा सुन्दर देश हो । हामी व्यक्तिगतरुपमा आर्थिक सम्पन्न भए पनि, ब्राण्डेट चश्मा, जुत्ता, पहिरन लगाए पनि सोचमा कुसंस्कारले ग्रसित छौं । यस लेखमा पुरुष र नारीको समानताको बारेमा मनमा लागेको थोरै चर्चा गर्ने अनुमति चाहान्छु । प्रसव पीडाहरु पार गरेर मात्रै आमा बन्न सकिन्छ । जुन पीडा सुत्केरी बन्नेहरुलाई मात्रै थाहा हुन्छ । जहाँ नारीको इज्जत गरिदैन, त्यँहा कलह हुन्छ, अन्याय, अत्याचार, दुराचारी, पापीहरुको रज़ाई हुन्छ ।

नारीलाई खेलौना सम्झने, कमजोर ठान्नेहरुलाई नारीहरुको आवाज अनि एकताले मात्रै अन्त्य गर्न सकिन्छ । नारीलाई कति कमजोर बनाइएको छ । गर्भबाटै हत्याको प्रयास हुन्छ । बालापन, यौवन कुनै जीवन पनि सुरक्षित छैन, सेलिब्रिटी नारीसँग पुरुषले फोटो लियो भने शंका गरिन्छ । लोग्ने मर्यो भने एकल विदुवा विचरी नाम दिइन्छ । स्वास्नी मानिस मर्यो भने विद्यवा बिचरा पुरुष भनिदैन, उसलाई कन्या केटीहरु, छोरी समानको केटी बिहे गरिदिन आतुर हुन्छौं । हाम्रो समाज र परिवार, क्षणिक खुसीले कति विकारल अवस्था सृजना गरेको छ । के नारी कुनै बिक्री हुने बस्तु हुन् ? पुरुष चरित्रहिन नहुने, नारी चरित्रहिन हुने, म चुनौती दिन चाहान्छु । कुन शास्त्रमा, कुन कानुनमा लेखेको छ । यसर्थ नारी सबैकी छोरी हुन् भनेर व्यवहर गर्नु प¥यो ।

मैले मेरो जीवनमा नमिठो अनुभव गरेकी छु । हल्लाको पछाडि लाग्ने कोही नजरहरुले मलाई ग़लत नजरले हरेको देख्दा उनिहरु प्रति टिठ लाग्छ । मलाई विवाद गर्नु पनि छैन, बस आफ्नो लक्ष्यमा अगाडि बढ्नु छ । मेरो कुरा काटेर खुसी मिल्छ भने कुरा काट्दै जाउ, फाईदा हुन्छ भने लिदै जाउ मेरो भन्नु केही छैन, म आत्मनिर्भर आफ्नो खुट्टामा टेकेको नारी हुँ ।

तर म जस्ता कैयौं नारीहरु अन्याय सहन्छन्, मैले जोड दिएर भन्न चाहान्छु । अन्याय सहनु नै अपराधलाई प्रशय दिनु हो । बत्ति जलेर उज्यालो दिन्छ, म बत्ति बन्न चाहान्छु, आफु जलेर उज्यालो दिन, त्यसैले नारीको पक्षमा आवाजहरु बुलन्द गर्नेछु । असल र स्वाभिमानी महानुभावहरुले साथ दिनुहुनेछ भन्ने विस्वास लिएकी छु।

मुलुकले प्रथम प्रधानन्यायाधीश पनि पाइसक्यो । तर हाम्रो मन कमजोर छ । अर्थात अन्याय सहन्छौं ।नारीको चरित्रलाई ऐनासँग तुलना गर्ने पाखण्डी सोचले गर्दा कयौं युवतीहरुले अन्याय सहन्छन्, बलात्कृत भए पनि लुकाउन खोज्छन् । हाम्रो समाज पनि अन्धो छ । बलात्कृत नारीहरुलाई अपराधीलाई जस्तो कालो पट्टी, अनुहार छोपेर अन्तरवार्ता लिएको देखिन्छ ।

किनकी उनको चरित्र ऐना जस्तै फुट्यो । यति मात्रै होइन, लोग्नेको मृत्यु भयो भने, छोरालाई खाई भनेर सासुले पनि अत्याचार गर्छन् । यस्ता धेरै कथाहरु छन् । म अपिल गर्न चाहान्छु, हामीले एकले अर्काको खुट्टा तान्ने, नारीले नारीको इष्र्या गर्ने होइन, एक भएर गलत सोचका विरुद्ध लैङ्गिक समानताका लागि एकजुट हुन ज़रूरी छ । अनि मात्रै सुनौलो विहानी उषाको किरण छर्न सक्नेछौं ।

प्रतिक्रिया दिनुहोस्