सत्तारुढ–प्रतिपक्ष द्वन्द्वले मुलुकको विकासको लक्ष्य छायामा

काठमाडौं । दलीय सहमति र एकताकै आधारमा संविधान जारी भयो । संविधानको पूर्ण कार्यान्वनयका बाँकी अंश पनि दलीय सहमतिबाटै सम्भव छ । अझ मुलुकले लिएको समृद्धि र विकासका लागि सत्तारुढ र विपक्षी एक ठाउँमा उभिनु पर्छ ।

यी आवश्यकतालाई चटक्कै विर्सिएर सत्तारुढ र विपक्षी दलहरु एक–अर्काप्रति ‘पानी बाराबार’को अवस्थामा पुगेका छन् । एक रिपोर्ट
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको एउटा बैठकमा समृद्धि र विकासमा कोही सत्तापक्ष त कोही प्रतिपक्ष नहुने बताएका थिए । तर, व्यवहारमा न सत्तापक्षले न प्रतिपक्षले एकअर्काको अस्तित्व स्वीकार गर्न सकेका छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सरकार अधिनायकबादतर्फ उन्मुख भन्दै विरोधमा उत्रिएको छ । विभिन्न सानातिना विषयलाई आफ्ना एजेण्डा बनाउँदै कांग्रेस, सरकार विरुद्धको सडक र सदन संघर्षमा उत्रिएको छ । अर्कोतर्फ दुईतिहाइको मत लिएर सरकारमा आसिन सत्तारुढ नेकपा विपक्षी कांग्रेसलाई विश्वासमा लिन आवश्यक ठान्दैन ।

उसका कतिपय क्रियाकलापले यस्तै देखाउँछ । सत्तारुढ संवैधानिक परिषद्मा प्रतिपक्षको उपस्थिति खासै आवश्यक ठान्दैन भन्ने उदाहरण केही संवैधानिक आयोगको सिफारिसले प्रष्ट्याएको छ । राष्ट्रका दूरगामी असर पार्ने विषय होस् वा परराष्ट्रनीतिमा सत्तापक्ष प्रतिपक्षसँग छलफलै गर्न नचाहने सत्तारुढको मनोवृत्तिले दूरी अझै बढाएको छ । प्रतिपक्ष पनि कम देखिदैन ।

आफ्ना नेताको नाममा रहेका अस्पताल, गोविन्द केसी आन्दोलन जस्ता विषयमा आफूलाई बढी केन्द्रित गर्दै सरकारको विरोध नै प्रतिपक्षको धर्मको नाममा कांग्रेसले देखाएको आन्दोलनले नेपाली जनताको जनजीवनमा खासै परिवर्तन नल्याउला । सानातिना विषयमा अल्झिएका सत्तापक्ष र प्रमुख प्रतिपक्षको ‘नोकझोंक’ले विकास र समृद्धिको ठूलो लक्ष्य छायामा पर्दै गएको छ ।

भेनेजुएला प्रकरणमा सत्तापक्ष र प्रतिपक्षको मतभिन्नताले आ–आफ्नो अस्तित्व होइन, मुलुककै कुटनीतिमा जग हसाईं भएको तर्फ न सरकार न प्रतिपक्षले समिक्षा गर्न सकेका छन् । यस्ता विषयहरुले झन् नेकपा र कांग्रेसबीच ‘मनभेद’ उत्पन्न गरेको छ । आफ्ना स्वार्थ केन्द्रित राजनीतिले मुलुकको मूल लक्ष्य कुण्ठित बनेको छ ।

संसदीय अभ्यासमा सत्तारुढ र प्रतिपक्षको आ–आफ्नै भूमिका रहलान् । तर, सिंगो मुलुकको प्रगतिमा दुई पक्ष एक ठाउँ उभिनुपर्ने वास्तविकताबाट कोही भाग्न सक्दैनन् । दुबै पक्षले एकअर्काको अस्तित्वलाई स्वीकार गर्दै सहमति, सहकार्य र एकतालाई मूल मन्त्र बनाउन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्