साढे ३ वर्षभित्र भारतसँगको सीमासम्बन्धि समस्या समाधान गर्ने योजना

काठमाडौँ । सरकारले साढे ३ वर्षभित्र भारतसँगको सीमासम्बन्धि समस्या समाधान गर्ने योजना अघि सारेको छ । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा अतिक्रमण नहोस् भन्ने हेतुले सीमा सुरक्षामा जोड दिएको भन्दै सरकारले आवश्यक प्रबन्धको तयारी सुरु गरेको जानकारी दिनुभएको हो ।

हाल सशस्त्र प्रहरीको कमाण्डमा रहेका १ सय ४ वटा सीमा सुरक्षा चौकी १ सय ७४ पु¥याउने र नदीमार्फत् हुने सीमा अतिक्रमण रोक्न स्तम्भ बनाउने कामका लागि सरकारले बजेट जुटाउने काम गरिरहेको मन्त्री ज्ञवालीको भनाइ थियो । समितिका सदस्यले सीमा क्षेत्रका नागरिकको लालपूर्जा समेत खोसेर सीमा मिचिने गरेको भन्दै ती समस्या समाधानका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

अन्तर्राष्ट्रिय कानूनले दिएको अधिकार प्रयोग गरेर भारत र चीन दुवै मुलुकबाट नेपालको सीमा अतिक्रमण हुन नदिनेतर्फ पनि उनीहरुले सरकारलाई सचेत गराएका थिए । समितिका सदस्यले विगतमा सरकारले चासो नदिएकाले नेपाल–भारत सीमामा समस्या बढ्दै गएको पनि औंल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्