अन्यत्र दशैंको चटारो, ललितपुरको खोकनामा सिकाली जात्राको रौनक (भिडियोसहित)

काठमाडौं, २९ असोज । खोकना, ललितपुरको जावलाखेलबाट सात-आठ किलोमिटर दक्षिणमा पर्ने पुरानो नेवार बस्ती । तोरीको तेलका लागि नाम कमाएको खोकनासँग दसैं नमनाउने अर्को पहिचान पनि छ ।

हिन्दू र बौद्ध धर्मावलम्बीको बाहुल्य रहेपनि खोकनाबासीलाई कहिल्यै पनि दसैंको रौनकले छुदैन् । ठूलो र सानो गरी दुई भागमा विभाजित खोकनामा करिब एक हजार घरधुरीमा झण्डै पाँच हजारको बसोबास छ । जसमध्ये झण्डै नब्बे प्रतिशत डंगोल र महर्जन छन् । पुरानो बस्तीबाट अहिलेको खोकना (नया“ बस्ती) मा बसाइ“ सरेदेखि नै दसैं मनाउन छोडिएको हो भन्छन् स्थानीय । तर, बसाइ“ कहिले सरियो र दसैं कहिलेबाट मनाउन छोडियो, यसको तिथि–मिति कसैलाई थाहा छैन् ।

पुरानोबाट नयाँ ठाउँमा बस्ती सार्दा तान्त्रिकले सिद्धिकाली जात्राको मिति पनि सारेको विश्वास गरिन्छ । पहिला यो जात्रा गाईजात्राको दिन मनाइन्थ्यो । बस्ती सारेसँगै जात्राको मिति पनि सारेपछि देवीलाई त्यो स्वीकार्य भएन । नया“ देवीलाई मन्जुर हुनेगरी नया“ मिति जुराउ“दा दसैंमा प¥यो । त्यसपछि यहाँ दसैं मनाउन छोडिएको हो भन्छन्, स्थानीय । खोकनाबासी गाईजात्राको दिन दसैं मान्छन्, तर टिकाजमरा लाउ“दैनन् । उनीहरुको गाईजात्रा पनि पात्रोभन्दा एक दिन ढिला पर्छ । गाईजात्रालाई दसैंका रुपमा मनाउने हु“दा यो दसैंको यहाँ कुनै उत्साह छैन ।

सिद्धिकाली अर्थात् सिकाली जात्रा नै खोकनाबासीको मुख्य पर्व हो । जुन आश्विन शुक्लपक्ष तृतीयाको दिन सुरु भएर नवमीमा सकिन्छ । दसैं मान्नेलाई दसैं खर्च र सामग्री जोरजाम गर्ने चटारो रहँदा खोकनाबासी भने सिद्धिकाली जात्रा कसरी धुमधामसँग मनाउने भन्ने चिन्तामा हुन्छन् । अन्यत्र दसैंको टीका लगाउने चटारो हुँदा खोकनाबासी भने एक साता लामो जात्राको थकाई मेट्छन, विजया दशमीका दिन । खोकनामा मुख्य तीन गुठी छन्, तगु, सलागु र जगु । जहाँ गुठी नै पिच्छेका चार÷चार जना कुमार उपवास बस्छन् ।

र, सबैले सिकाली देवीलाई विधिपूर्वक नृत्य र गोप्य पूजासँगै जात्रा सुरु हुन्छ । अब सिकाली जात्राको ऐतिहासिक, धार्मिक, साँस्कृतिक र सामाजिक पक्षको चर्चा गरौं ।

सिकाली जात्रा

यो ललिपुरको खोकना गाउँ । यहाँ अन्तयत्रजस्तो दसैको चहलपहल छैन । बरु सिकाली जात्राको रौनक छ । खोकनाबासीले घटस्थापनामा जमरा राखेनन्, सप्तमीमा फूलपाती भित्र्याउँदैनन्, दशमीमा टीका लगाउँदैनन् । किनकि, खोकनाबासी सिद्धिकाली अर्थात् सिकाली जात्रा मनाउन व्यस्त छन् ।

यहाँ सिकाली जात्रालाई मुख्य पर्वका रूपमा मनाउने गरिन्छ । स्थानीय रुद्रायणी गुठीका बैदार बेखनर महर्जनका अनुसार खोकनामा मुख्य तगु, सलागु र जगु गरी तीनवटा गुठी छन् । दसैं तृतीयाको दिन शनिबार तगु र सला गुठीका ४-४ जना कुमार केटा नुहाएर चोखो लुगा लगाई उपवास बस्छन् । आआफ्ना गुठीका मुख्य थकालीबाट पूजा सामग्री लिई बस्तीभन्दा पर सिकाली चौरस्थित सिकाली देवीलाई विधिपूर्वक नृत्य र गोप्य पूजा गर्छन् र जात्रा सुरु हुन्छ ।

गुठीको गोप्य पूजा भएकाले सिकाली चौरमा अन्य मानिस, चराचुरुंगी र जीवजन्तु कोही बस्न पाइदैन । खोकनावासीले दसैंका रूपमा जनैपूर्णिमा धस्ज्याका दिनमा मनाउने गरेका छन् । त्यस दिन बिहान टोल, चोक र आँगन सफा राखी नुहाइधुवाइ गरी चोखो भई क्रमशस् कुमार, गणेश, रुद्रायणी र श्रीखण्ड भगवान् मन्दिरमा गई पूजा गरिन्छ । त्यसपछि रुद्रायणी देवतालाई मन्दिरबाहिर ल्याई हाँस र बोका बलि चढाई चौरमा लगिन्छ र बेलुका विश्वकर्मा पूजा गरिन्छ ।

तीनै गुठीबाट एक÷एकवटा राँगा ढोकासी चो फल्चा अगाडि बलि दिई बेलुका सिकाली देवीलाई प्रसाद चढाउने गरिन्छ । अन्त्यमा गुठियारहरू बसी प्रसाद खाई गुठीमा ‘छोएला बु’ मनाउँछन् । सोही राति तीनै गुठीमा तान्त्रिक विधिअनुसार वीरभद्र महाकाली स्थापना गरी भैरव जगाउने चलन छ । भैरव जगाउँदा बाजा अटुट रूपमा बजाउनुपर्ने रुद्रायणी गुठीका गुठीयारहरू बताउँछन् । पञ्चमीका दिन आआफ्नो गुठीमा भैरव प्रतिस्थापना गरी प्रत्येक गुठीमा नवदुर्गा तयार गरिन्छ । त्यसपछि राति तीनै गुठीका नवदुर्गा देवता तल्लो लाछीमा ल्याई एकै ठाउँमा राखिन्छ ।

षष्ठीको दिन बिहान ४६ जना देवगणसहित चौरमा हुने अश्वमेघ यज्ञमा सहभागी हुन प्रस्थान हुन्छन् । यज्ञमा सेती देवी होमिदा वीरभद्र र महाकाली जागी यज्ञ विध्वंस र सबै देवीदेवतालाई वीरभद्र महाकालीले लखेट्ने दृश्य देख्न सकिनेछ । सोही साँझ ४६ जना देवगण र वीरभद्र, महाकाल, भैरव र देवताको खट देश यास् नगर परिक्रमा गराउने गर्छन् ।

सप्तमीका दिन तल्लो लाछीस्थित मुख्य डबलीमा नाच देखाउने प्रचलन छ । उक्त नाचलाई महालक्ष्मीले महिषासुरलाई बध गरी खुसियाली मनाएको नाचका रूपमा लिइन्छ । जुन जात्रालाईमुख्य रौनकका रूपमा लिइन्छ । यसरी औपचारिक रूपमा जात्रा सकिन्छ । अष्टमी, नवमी र विजयादशमीदेखि पूर्णिमासम्म खोकनामा अरू रौनक हुँदैन ।

प्रतिक्रिया दिनुहोस्