उच्च पदस्थ तथा शीर्ष नेता कसले कहाँ मनाउँदैछन् दशैं ?

काठमाडौं – प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका अधिकांश शीर्ष नेताले काठमाडौंमै दसैं मनाउने भएका छन् । दसैं मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विपक्षी दलका नेता शेरबहादुर देउवा, पूर्वराष्ट्रपति रामवरण यादवसहितका नेतामध्ये कोही गृहजिल्ला पुग्दैछन् भने कोही काठमाडौंमै बसेर चाडबाड मान्ने योजनामा जुटेका छन् । कांग्रेस नेता रामचन्द्र पौडेलसहितका केही नेता यही मौका छोपेर धार्मिक यात्रामा निस्कने तयारीमा छन्।,याे खवर अाजकाे नागरिक दैनिकले लेखेकाे हाे ।

राष्ट्रपति भण्डारीले मंगलबार नेपाली सेनाको आयोजनामा टुँडिखेलमा हुने फूलपाती भित्र्याउने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति बुधबार बिहान पलाञ्चोक भगवती जाने र त्यसपछि विभिन्न शक्तिपीठको दर्शन गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका स्वकीय सहसचिव जीवछ साहले बताए । राष्ट्रपति भण्डारीले विजया दशमीका दिन पारिवारिक सदस्यका साथै प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ अधिकारीका साथै सर्वधारणलाई टीका लगाइदिने कार्यक्रम छ।

राष्ट्रपति कार्यालयका अनुसार १ देखि २ बजेसम्म उच्चपदस्थ अधिकारी र त्यसपछि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विजया दशमीका दिन बिहान गृहजिल्ला झापाबाट काठमाडौं फर्कने कार्यक्रम छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओलीले त्यस दिन बिहान पिता मोहनप्रसाद ओलीसँग टीका लगाएर काठमाडौं फर्कने भएका छन् । उनी टीकाको अघिल्लो दिन नवमीमा झापा जाने भएका छन्।

नवमीमा दिनभर उनी शुभकामना आदानप्रदान कार्यक्रममा व्यस्त हुने भएका छन् । त्यस दिन उनी बिर्तामोडमा दसैंतिहार तथा छठ पर्वका अवसरमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित हुनेछन् । नवमीका दिन बिर्तामोडमा हरेक वर्ष ओलीले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने गरेको प्रेस संयोजक अधिकारीले बताए।

त्यस्तै विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंमै दसैं मनाउने भएका छन् । ‘दसैंका लागि काठमाडौंबाहिर जाने उहाँको कुनै कार्यक्रम छैन,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘काठमाडौंमै बसेर दसैं मनाउने उहाँको कार्यक्रम छ ।’ परिवारका सदस्यका साथै पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नै निवास बुढानीलकण्ठमा टीका लगाइदिने देउवाको योजना छ।

यसैगरी पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधव नेपालले काठमाडौंमा दसैं मनाउने भएका छन् । नवमीका दिन उनी गृहजिल्ला रौतहटबाट काठमाडौं आउने भएका छन् । टीकाको दिन उनले दाजु दिव्यकुमार उपाध्याय र सानीआमा शान्ता नेपालको हातबाट टीका लगाउनेछन् । मंगलबार उनी रौतहट जाने कार्यक्रम तय गरिएको छ । तर, पार्टी नेता रामचन्द्र पौडेलले भने मंगलबार धार्मिक भ्रमणमा निस्कनेछन् । १२ दिने धार्मिक भ्रमणका क्रममा पौडेलले छिमेकी मुलुक भारतका बोधगया, बद्रीनाथ, केदारनाथ, हरिद्वार, ऋषिकेशसहितका ठाउँमा पुग्नेछन् । ‘भारतका विभिन्न तीर्थस्थल जान लागेको हुँ,’ पौडेलले भने, ‘राजनीतिक भेटघाँटको कुनै कार्यक्रम छैन।’

कांग्रेस उपसभापति विमलेन्द्र निधिले काठमाडौंमै दसैं मनाउने भएका छन् । ‘दसैंमा काठमाडौंबाहिर जाने कार्यक्रम छैन,’ निधिका स्वकीय सचिव विश्वास विक्रमले भने, ‘उहाँ मन्दिरहरूमा जाने र पारिवारिक भेटघाट गरेर दसैं मनाउने योजनामा हुनुहुन्छ।’

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुर महोत्तरीको जलेश्वरमा दसैं मनाउनेछन् । ठाकुर आइतबार जलेश्वर पुगेका हुन् । राजपा नेपालका सहमहामन्त्री डा.सुरेन्द्र झाले टीकाको दिनसम्म ठाकुर महोत्तरीमा गरिने शुभकामना आदानप्रदान कार्यक्रम, दूर्गामाताको पूजाअर्चना तथा दसैंका अन्य कार्यक्रममा सहभागी हुने बताए।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि गृहजिल्ला सर्लाहीमा दसैं मनाउने भएका छन् । उनी सोमबार धनुषा पुगेका छन् । महतो टीकाको दिनसम्म धनुषाबाट सर्लाही पुग्नेछन् । यसैगरी राजपाका अध्यक्ष मण्डलका अर्का सदस्य शरत्सिंह भण्डारी दसैंको अघिल्लो दिन महोत्तरीबाट काठमाडौं आउने भएका छन् । टीकाका दिन उनी काठमाडौंमै रहने भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्