क्रिकेट र फुटबल खेलाडीप्रति सरकारको कदर, बडीबिल्डर महर्जनको पनि सम्मान

काठमाडौं, २ फागुन । सरकारले क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । क्रिकेट खेलाडीलाई पाँच लाख, मुख्य प्रशिक्षकलाई तीन लाख, अफिसियललाई जनही दुई लाख रकम दिने निर्णय गरेको हो ।

संयुक्त अरब इमिरेट्स युएईसंगको ऐतिहासि एक दिवशीय र ट्वान्टी ट्वान्टी श्रृंखला जितेको नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले सो नगद पुरस्कार दिने घोषणा गरेको हो । माघ २५ गते बसेको मन्त्रिपरिषदको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँँस्कोटाले फुटबल खेलाडीलाई दुई लाख र शारीरिक सुगठन प्रतियोगिताका विश्व च्याम्पियन बनेका महेश्वर महर्जनलाई पाँच लाख दिने निर्णय गरेको जानकारी दिनुभयो ।

गत भदौमा आयोजित साफ फुटबलमा उपविजेता बनेको नेपाली फुटबल टोलीका खेलाडीहरुले जनही २ लाख पाउने छन भने महर्जनले थाइल्याण्डमा आयोजित विश्व बडीबिल्डिङ च्याम्पियनशीपमा स्वर्ण जितेर नेपाललाई ऐतिहासिक स्वर्ण पदक दिलाएकोमा सरकारले ५ लाख नगद पुरस्कार दिने निर्णय गरेको हो ।

यस्तै, नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बीच सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अनुमोदनका लागि संघीय संसदमा पेश गर्ने समेत निर्णय गरेको छ । सरकारले गत वर्ष नै मिलेनियम च्यालेञ्ज विकास समिति गठन गरेको छ ।

अमेरिकाले नेपालको उर्चा क्षेत्रको विकासका लागि ५० करोड डलर बराबरको सहायता उपलब्ध गराउँदै छ । उक्त सहयोगका लागि तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनुदान सम्झौतामा हस्ताक्षर गरेका थिए । अनुदान रकममा नेपाल सरकारले १३ अर्ब २७ करोड रुपियाँ थप गरेर जलविद्युत र सडक सम्बन्धी परियोजनाहरु पाँच वर्ष भित्र सम्पन्न गर्नेछ ।

रकमको झण्डै ७० प्रतिशत ३ सय किलोमिटर क्षेत्रफलमा ४ सय केभी क्षमताको प्रसारण लाइनको निर्माण र बाँकी ५ वटा सडकखण्डको स्तरोन्नतिका लागि खर्च गरिने सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्