कित्ताकाट रोक्काप्रति स्थानीय असन्तुष्ट

  • राजु कोइराला,

फागुन २, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत उपत्यकाभित्र कित्ताकाटसँगै घरको नक्सापास रोक्का गरेपछि स्थानीय आन्दोलित भएका छन् । कित्ताकाटसँगै घरको नक्सापास रोक्काको विकल्प नै नदिएर वीरेन्द्रनगर नगरपालिकाले एकलौटी बन्द गरेपछि स्थानीय बासिन्दा आन्दोलित भएका हुन् ।

वीरेन्द्रनगरका ४८१ जना स्थानीयद्वारा हस्तारक्षित ज्ञापन पत्रसहित विहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी उनीहरुले विकल्प दिएर मात्र कित्ताकाटसँगै घरको नक्सापास रोक्का गर्नुपर्ने माग राखेका छन् । पत्रकार सम्मेलनमा वीरेन्द्रनगर—६, का स्थानीय रवि सापकोटाले नागरिकको आफ्नो सम्पत्तीलाई भोगचलन गर्न पाउने मौलिक अधिकारमाथि वीरेन्द्रनगर नगरपालिकाले ठाडो हस्तक्षेप गरेको बताए ।

‘कहीं नभएको कानून स्थानीय तहले पाएँ भन्दैमा नागरिकको मौलिक अधिकारमाथि नै हनन् हुने गरि हस्तक्षेप गर्नु हुँदैन,’ उनले भने, ‘वीरेन्द्रनगरलाई सुन्दर बनाउने नाममा गुरु योजनाका लागि जग्गाको वर्गीकरण नगरी कित्ताकाटसँगै घर नक्सापास रोक्का गर्नु नागरिक अधिकार माथिको ठाडो हस्तक्षेप हो ।’ उनले संघीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा गत पौष २७ गते दिइएको निर्देशन अनुसार सर्वसाधारणको हित तथा मौलिक हकलाई ध्यानमा राखि कुनै पनि व्यक्ति, फर्म, संस्था वा कम्पनीले वर्षमा एउटा कित्ताबाट एक पटक मात्र कित्ताकाट गरी विक्री वितरण गर्न पाईने नियम रहेको बताए ।

उक्त निर्देशन अनुसार एक अंशियारलाई एउटा कित्ता हुने गरी अंशबण्डा वा अंश भरपाई, संयुक्त नाममा रहेको जग्गा दर्ता फार गरी कित्ताकाट गर्न पाइने उनको भनाइ छ । तर, वीरेन्द्रनगर नगरपालिकाले एकलौटी सवैप्रकारका कित्ताकाटसँगै घर नक्सापास रोक्का गरेपछि समस्या उत्पन्न भएको अर्का स्थानीय हेम चन्दले बताए ।

‘देशैभरी भूमि वर्गीकरण योजना तयार भईरहँदा वीरेन्द्रनगर नगरपालिकाले आफ्नो एकाधिकार देखाउँदै गत माघ २१ गते गुरुयोजना तयार नहुँदासम्म जग्गा कित्ताकाट तथा घरनक्सा पासमा पूर्णतया रोक्का गर्ने निर्णय ग¥यो,’ उनले भने, ‘यस्तो निर्णय अन्य कुनै प्रदेशमा नभएको, वीरेन्द्रनगर नगरपालिकाले केन्द्रीय मन्त्रालयको निर्देशनलाई समेत लत्याउँदै सर्वसाधारणको मौलिक हकमाथि मनोमानी गरेको छ ।’

उनले वीरेन्द्रनगर नगरपालिकाले आफ्नो निर्णयलाई नसच्याएर सर्वसाधारणको समस्या बल्झींदै गएर विरोधसँगै आन्दोलनको वातावरण सृजना हुने जिकिर गरे । यता वीरेन्द्रनगर नगरपालिकाले मनपरी तरिकाले कित्ताकाट गरिँदा कृषियोग्य भूमि खण्डीकरण हुन लागेको भन्दै अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि कित्ताकाट र घरको नक्सापास रोक्का गरेको छ ।

नगरपालिकाले साविक वडा नं. १ देखि १२ सम्मका गुरुयोजना सडकसँग जोडिए बाहेकका जग्गा र रत्न राजमार्गदेखि दक्षिणतर्फका वडा नं २, ३, ९, १० र ११ मा जग्गा कित्ताकाटसँगै घरको नक्सापास रोक्का गर्ने निर्णय गरेको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर भएसँगै यहाँ मनपरी तरिकाले कित्ताकाट गरी कृषियोग्य भूमिलाई खण्डीकरण गर्ने कार्य बढ्दै गएको थियो ।

यसको नियन्त्रणका लागि तत्काल कित्ताकाट र घरको नक्सापास रोक्का गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत दीपेन सुवेदीले जानकारी दिए । ‘नगरको गुरुयोजना नबन्दासम्मका लागि कित्ताकाट र नक्सापास रोक्ने निर्णय गरेका छौँ,’ उनले भने, ‘गुरुयोजना निर्माणको प्रक्रियामा रहेकाले हाललाई लगत कट्टा भएका सडक क्षेत्रमा घर निर्माण प्रक्रिया बमोजिम खुला गरिनेछ ।’

नपाले कृषियोग्य भूमि संरक्षण गर्न एक हप्ताअघि समितिसमेत गठन गरिएको थियो । सो समितिले बुझाएको प्रतिवेदनअनुसार नै सो निर्णय गरिएको हो । यसैवीच विहीबार नै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई स्थानीयले भेटेर वीरेन्द्रनगर नगरपालिकाले रोक्का गरेको कित्ताकाटसँगै घरनक्सा पास तत्काल खुलाउन माग पत्र बुझाएका छन् ।

मागपत्रमा वीरेन्द्रनगर नगरपालिकाले एकलौटी ढंगले कित्ताकाटसँगै घरनक्सा पास रोक्का गरेपछि नागरिकले आपतकालिन अवस्थामा आफ्नो घरव्यवहार मिलाउन सम्पत्ती नै विक्री नपाउने कानून गलत भएको उल्लेख गरिएको छ ।

तर, मुख्यमन्त्री शाहीले भने वीरेन्द्रनगर नगरपालिकाले कित्ताकाटसँगै घर नक्सापासमा रोक्का गरेको बारेमा आफुलाई कुनै जानकारी नभएको बताए । उनले स्थानीयको समस्याप्रति आफु गम्भीर रहेकाले वीरेन्द्रनगर नगरपालिकाको उक्त निर्णय बारेमा बुझेर कुनै विकल्प खोजिने जनाए ।

प्रतिक्रिया दिनुहोस्