नेकपाको सरकारले क्रमभङ्ग हुनेगरी विकासमा फड्को मार्न सकेन : डा भट्टराई

पोखरा । बहुमत प्राप्त गर्न सफल नेकपाको सरकारले जनताले अपेक्षाअनुरुप काम गर्न नसकेको नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बताउनुभएको छ ।

पोखरामा आयोजित संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता भट्टराईले बर्तमान सरकारले जुन रुपमा बिकासमा फड्को मार्न पर्ने हो सो अनुरुप काम गर्न नसकेको र कामभन्दा कुरामा मात्र सरकार सिमित रहेको जिकिर गर्नुभयो ।

फाइल तस्बिर

उहाँले वर्तमान सरकारबाट जनताले धेरै आशा र भरोसा गरेतापनि जनचाहनाअनुरुप क्रमभङ्ग हुने गरी विकासमा फड्को मार्न नसकेको र अर्थतन्त्र पनि पहिलाकै अवस्थामा कमजाेर रहेको जिकिर गर्नुभयो ।

उहाँले गरीबी र बेरोजगारीको दर झन् बढ्दै गएको, औषत प्रतिव्यक्ति आय रु १० हजार डलर पुर्याउन दुई दशकसम्म आर्थिक वृद्धिदर दुई अङ्कमा बढ्नुपर्ने आवश्यकता रहेको सरकारलाई सुझाव दिनुभयो । साथै उहाँले समृद्धिका लागि सडक पूर्वाधारमा विशेष जोड दिनुपर्ने तराई हुलाकीमार्ग, मध्यपहाडी हुलाकीमार्गका साथै उत्तरदक्षिण जोड्ने कोशी, कालीगण्डकी, कर्णाली करिडोरलगायतको निर्माणकार्यलाई प्राथमिकता दिइनुपर्नेमा जोड दिनुभयो ।

नेता भट्टराईले राष्ट्रियता र जनजिवनमा महत्व राख्ने विषयहरुमा खवरदारी गर्दै जनसंवाद यात्रा जारी राखेको बताउनुभयो ।उहाँले उधोग धन्दामा निजी क्षेत्रलाई प्रोत्साहन नगरि‌दासम्म देशले बिकासमा फड्को मार्न नसक्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्