पछिल्लो समय व्यवसायिक पेशा बन्दै ‘घोडाचढी’

  • रबिना बोहोरा,

बागलुङ । अधिकांश मानिसहरु प्राकृतिक सौन्दर्य हेर्न पुग्ने मुस्ताङमा घोडाचढी पछिल्लो समय व्यवसायिक पेशा बन्दै गएको छ । बौद्ध तथा हिन्दु धर्मालम्बीहरुको प्रमुख गन्तव्य स्थल मुक्तिनाथ पुग्ने पर्यटकलाई झण्डै एक किलोमिटर बाटोमा घोडामा चडाएर मन्दिर सम्म पुर्याउने गरिन्छ ।

मुस्ताङको मुक्तिनाथ घुम्न जाने पर्यटकहरुलाई लक्षित गरी सञ्चालन गर्दै आएको यस व्यवसाय गरेर कयौँ महिलाहरुले आफ्नो घरवार धानेका छन् । घोडा व्यवसाय गर्दै आएकी खुशी बिसिको दैनिकी बिहान साढे ६ बजेबाट सुरु हुन्छ । तिर्थयात्रीलाई घोडामा चढाएर मन्दिरसम्म पु¥याउने र फर्काउने गर्दा गर्दै उनले दिनमा झण्डै २५ पटक सम्म ओहोरदोहोर गर्ने गर्छिन् ।

उनले १ लाख ९० हजार रुपैँयामा घोडा किनेर काम थालेको भन्दै मासिक रुपमा सिजनमा ५५ हजार रुपैँया सम्म कमाउने गरेको बताईन् । अहिले यस पेशाले उनलाई बालबच्चाको पालनपोषण गर्न सहज भएको बताउछिन् ।

‘कसैको लिनु दिनु छ भने दिने, बालबच्चा पढाउने गर्छु यहाँको कमाईले, सिजनमा राम्रो आम्दानी हुन्छ, बेसिजन भयो भने फेरी घोडा पाल्न कठिन पनि हुन्छ’ उनले भनिन् । उनी जस्ता कयौँ महिलाहरु र पुरुषहरुले घोडाचढी व्यवसाय गरेर परिवार धानेका छन् ।

अहिले यस समितिमा झण्डै ५० वटा घोडाहरु छन् । तीर्थयात्रीहरुलाई घोडा माथि चढेर फोटो खिचेको एक सय रुपैँया र मन्दिरसम्म पु¥याएको ३ सय रुपैँयासम्म लिने गरेका छन् । मन्दिर पुग्ने पर्यटकहरु पनि घोडामै चडेर घुम्न रुचाउने गर्छन ।

आजभोली गाउघरमा घोडा निक्कै कम मात्र देखिन्छन् । कहिकतै घोडा चड्न नपाएका मानिसहरु पनि मुस्ताङ पुगेपछि घोडा चड्न पाउदा रमाइलो लाग्ने बताउँछन् । विगतमा पर्यटक आकर्षण गर्न थालिएको घोडाचढी पछिल्लो समय पेशाका रुपमा विस्तार हुदैँ गएको बाह्गाउँ मुक्तिक्षेत्र गाउँपालिका–१ का सदस्य तसी छिरिङ गुरुङले बताए ।

उनले यस पेशा अधिकांश महिला तथा पुरुषहरुलाई आम्दानीको स्रोतको रुपमा स्थापित भएको बताए । घोडा चड्न बिदेशीमात्र नभएर नेपालीहरु पनि उत्तिकै रमाउने गर्छन् । बालबालिका, युवादेखि बृद्धबृद्धा सम्मले घोडामा चढेर मन्दिरसम्म पुग्ने गर्छन् ।

यस्तै सिजनमा राम्रो आम्दानी दिने भएपनि पर्यटकहरु कम मात्रामा आउने समयमा घोडा पाल्न समस्या हुने गरेको व्यवसायीहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस्