अभावकाबीच प्रदेश सफल बन्योः मुख्यमन्त्री पोख्रेल

  • कृष्ण पाण्डे, शिब डुम्रे,

बुटवल । प्रदेश ५ ले आफ्नो प्रदेशको पहिलो स्थापना दिवस तथा बुटवल उपमहानगरपालिकाको ६०औं स्थापना दिवस संयुक्त रुपमा बुटवलको बुटवलमण्डपमा एक समारोहकाबीच मनाएको छ ।

भव्य राष्ट्रिय समारोहजस्तै लाग्ने उक्त कार्यक्रममा प्रदेश प्रमुख उमाकान्त झा सहितको उपस्थितीमा प्रदेशका मन्त्रीहरु, प्रदेश सभाका सदस्य तथा विशिष्ट अतिथीहरुको बीचमा उक्त समारोह सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख वक्ता प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलेले सबैले सहयोग गरेमात्र प्रदेश समृद्ध हुनसक्नेमा जोड दिए ।

देशमा संघियताको नयाँ अभ्यासको चरणमा प्रदेश नं.५ निकै अभावबाट गुज्रेको स्मरण गर्दै उनले अभावका बीचमा पनि प्रदेशलाई सफल बनाउन सकेकोमा खुसी व्यक्त गरे । प्रदेश नं. ५ मिनी नेपालको रुपमा रहेको भन्दै प्रदेश ५ लाई समृद्ध बनाउन सकेमात्र देश समृद्ध हुने उनले जिकिर गरे ।

समारोहमा बोल्दै, प्रदेशलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइरहँदा उनले संघीयता नै प्रदेश सरकारको महत्वपूर्ण आधार भएको बताए । नकरात्मकताले हेर्ने आँखाहरु बढी भएको भन्दै उनले आफूहरुकै नेतृत्वमा देश बन्छ भन्दै सबैलाई ढुक्क रहन समेत आह्वान गरे ।

संघीयताले स्वभाविक रुपमा खर्च बृद्धि भएपनि जनताको ठूलो खर्चहरु खटिरहेको दाबी गरे । उनले प्रदेश सरकारले योजना लिएर आउने जो–कोहीलाई पनि ऋण उपलब्ध गराउने र आर्थिक समृद्धिको लागी सहयोग गर्ने समेत बताए ।

बुटवल उपमहानगर स्थापनाको ६० औं बार्षिकोत्सव समारोह समेत संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उपमहानगरका प्रमुख शिवराज सुवेदीले स्थानीय तह र प्रदेश सरकारबीच समन्वयात्मक भूमिका भएपनि आफैंमा स्वतन्त्र भएको बताए । प्रदेश सरकारले स्थानीय तहलाई संविधानअनुरुप स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्नेमा उनको जोड थियो ।

सबै मिलेर देश समृद्ध गराउने अभियानमा बुटवल नगर लागिपरेको भन्दै प्रदेशको राजधानी र प्रदेश नामसमेत तत्काल तोक्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशका सभाका सदस्यहरु, प्रदेश प्रहरी तथा स्थानीय संघ संस्थाहरुको उल्लेख्य सहभागीता रहेको थियो । झण्डै २ दर्जनभन्दा बढी झाँकीहरु प्रस्तुत गरिएको उक्त कार्यक्रममा उत्कृष्ट झाँकीदेखि उत्कृष्ट करदाता, सरसफाईदाता, निर्माण उपभोक्ता, कर्मचारी लगायतलाई सम्मान तथा पुरस्कार वितरण समेत गरिएको थियो ।

प्रदेश प्रमुखलाई प्रदेश प्रहरीले सलामी समेत दिएको थियो भने कार्यक्रममा प्रदेशभरीका विभिन्न सांस्कृतिक झलकहरु प्रस्तुत समेत गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्