भ्रष्टाचारको इपीसेन्टर स्थानीय तहमा स¥योः सीपी मैनाली

काठमाडौं । नेकपा (माले) का महासचिव एवम् पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले वर्तमान सरकारको एक वर्षे कार्यकाललाई आफूले शून्य अंक दिने बताउनु भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, ‘यो सरकार दुई तिहाईको सरकार हो, तर यो परम्रागत ढंगबाट नै चल्यो । यसले आफ्नो कम्युनिष्ट चरित्र अनुसार काम गर्न सकेन । त्यसैले शून्य अंक पाउनुपर्ने हो ।’

महासचिव मैनालीले सरकारले राम्रो योजना अनुसार काम गर्न नसकेको पनि आरोप लगाउनु भयो । उहाँले भन्नुभयो,‘यो सरकार पनि विगतकै जस्तो निरन्तरता भयो । अहिले यो यथास्थितिमा छ । उत्पादनमा ह«ास भएको छ । भ्रष्टाचारहरु छरिएका छन् । अहिले भ्रष्टाचारको ईपीसेन्टर स्थानीय निकायमा सरेको छ ।’

मुलुकमा सुशासन पनि नभएको उहाँको आरोप छ । महासचिव मैनालीको भनाइ छ ,‘सरकार अहंकारी र दम्भी बनेको छ । सञ्चार जगतमा नियन्त्रण जमाउने र मुख थुन्ने काम भएको छ ।’ मैनालीले सरकारले अहिलेसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कडा आलोचना गर्नुभयो ।

सरकारले विकासको नाममा वातावरणीय पर्यावरणको विनाश गर्ने काम गरेको पनि उहाँको टिप्पणी थियो। उहाँले भन्नुभयो,‘विकासमा विनाश हुन्छ, तर कम क्षतिमा हुनुपर्दछ । अहिले त्यस्तो भएको छैन् । विकासको नाममा प्राकृतिक स्रोत र साधनको दोहन भैरहेको छ ।’

उहाँले मदन भण्डारी राजमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने पक्षमा आफू पनि रहेको बताउनुभयो । यद्धपी यसको निर्माणसँगै बायोलोजिकल डाईभर्सीटीलाई पनि ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

प्रतिक्रिया दिनुहोस्