निक्षेप भन्दा कर्जाको माग बढी हुँदा बैंकहरुमा तरलता समस्या

काठमाडौं । वित्तीय बजारमा तरलता अभाव हुँदा पछिल्लो समय अधिकांश क्षेत्रहरु प्रभावित भएका छन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्कमा निक्षेप बढेपनि कर्जाको माग बढी हुँदा ब्याजदरमा वृद्धि भएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्ने समय नजिकिदै गर्दा बजारमा लगानीयोग्यरकमको अभाव फेरी देखिन थालेको छ । हुन त गत वर्ष भन्दा चालु आर्थिक वर्षको पुष मसान्त सम्ममा २१ प्रतिशतले निक्षेप बढेको देखिन्छ ।

तर कर्जाको माग उच्च भएकाले बैंकिङ प्रणालीमा नगद प्रवाह कमजोर बनेको छ । बैंकमा तरलता अभाव हुँदा व्यापार व्यवसायमा हुने नगद प्रवाहको समय अवधी बढन् गएको छ । यसले गर्दा लामो समयका लागि बैंकमा निक्षेप संकलन हुन सकेको छैन् । बैंकिङ विज्ञका अनुसार उत्पादन भएको वस्तु नगदमा परिणत हुन समय लागेको देखिएको छ ।

वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव हुँदा कर्जा प्रवाह बजारको माग अनुसार हुन सकेको छैन् । बजारमा लगानीका क्षेत्रहरु धेरै छन् । त्यसैले उद्योगी व्यवसायीहरुले कर्जाको माग गरिरहेका छन् । बैंकहरुले पनि निक्षेपको वृद्धिदर भन्दा कर्जाको माग बढेको स्वीकार गर्दै निक्षेप बढाउन विभिन्न मागहरु राखेको बताएका छन् ।

बजारमा कर्जाको माग अध्यधिक छ । आन्तरिक स्रोतबाट आएको निक्षेपले कर्जाको माग धान्न सकेको छैन् । सरकारले बजेट खर्च समयमै गर्न नसक्दा समेत बजारमा नगद प्रवाह घटेको छ । त्यसैले तरलता र बढदै गएको ब्याजदरको समाधानका लागि दिर्घकालीन उपाय बाहय पूँजी आकर्षित गर्नु नै देखिन्छ । अनिमात्र बजारमा कर्जाको माग पुरा हुने छ ।

प्रतिक्रिया दिनुहोस्