वैभवशाली दोलखाको ऐतिहासिक भीमेश्वरको उत्पत्ति र यसप्रतिको आध्यात्मिक आकर्षण

  • रामभक्त श्रेष्ठ,

परिचय,

मध्यकालमा पूर्वमा तामाकोशी र पश्चिममा सुनकोशीसम्म फैलिएको थियो दोलखा राज्य । दोलखाबाट नेपालको राजधानी काठमाडौं करिव १३२ कि.मि. पश्चिममा पर्दछ । दोलखा प्रदेश नं. ३ मा पर्ने एउटा हिमाली जिल्ला हो । यो जिल्ला उत्तर पूर्वी दिशामा फैलिएको छ ।

यस जिल्लामा २ वटा नगरपालिका (भीमेश्वर नगरपालिका र जिरी नगरपालिका) र ७ ओटा गाउँपालिका (गौरीशङ्कर गाउँपालिका, कालिञ्चोक गाउँपालिका, वैतेश्वर गाउँपालिका, विगु गाउँपालिका, तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका र शैलुङ गाउँपालिका) रहेको छ । यस जिल्लाको भू–भाग समुन्द्री सतहबाट न्यूनतम ७३२ मिटर (सितली) र अधिकतम ७१३४ मिटर गौरीशङ्कर हिमाल (गौरी र शंकरको प्रतीक मानिने हिमाल जुन हिमालबाट नेपालको समय मापन गरिएको छ र धार्मिक कारणले उक्त हिमालको पर्वतारोहणमा प्रतिवन्ध लगाइएको छ ।) रहेको छ ।

प्राकृतिक सौन्दर्य, विभिन्न धर्मावलम्वीहरुको धार्मिक स्थल, विभिन्न हावापानीको सङ्गम स्थाल, जलाशयको धनी, यिनै विविधता बोकेको दोलखा जिल्ला नेपालको एउटा महत्वपूर्ण जिल्लाको रुपमा रहेको छ । विश्वकै सवै भन्दा उचाइमा र सस्तो लागतमा निर्मित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले पनि दोलखाको जिल्ला थप आकर्षणको केन्द्र बनेको छ ।

दोलखा आदिमकाल देखि चर्चामा रहेको एउटा स्थान हो । संसारको सभ्यताको सुरुवात नायल नदीबाट भएको हो भने नेपालको सभ्यताको शुरुवात सायदै दोलखाबाट हुनु पर्दछ । कुरो जे भएता पनि दोलखा लिच्छविकालीन सभ्यता, किराँतकालीन सभ्यता भन्दा पनि पुरानो इतिहास बोकेको प्राचीन शहरको रुपमा लिन सकिन्छ । त्यसैले इतिहास शिरोमणी बाबुराम आचार्यले भनेका छन् “दोलखाको इतिहास पूरा नभए सम्म नेपालको नै इतिहास पूरा हुन सक्दैन ।”

अवस्थिति,

नेपालको प्रदेश नं. ३, दोलखा जिल्लाको प्रदेश क्षेत्र नं. २ अन्तर्गत साविक पूर्व दोलखा गाविस वडा नं. ९ हाल भीमेश्वर नगरपालिका वडा नं. २ दोलखा बजारमा अवस्थित श्री भीमेश्वर (भीमसेन) हिन्दू राज्यको महत्वपूर्ण धार्मिक तीर्थस्थलको हो । दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट ४ किलोमिटरको दुरीमा श्री भीमेश्वर मन्दिर पुग्न सकिन्छ ।

किंवदन्ती,

श्री भीमेश्वरको उत्पत्तिको वारेमा खासै ठोस प्रमाणहरु फेला नपरेता पनि यसको उत्पत्तिको वारेमा दोलखामा धेरै किँवदन्तीहरु पाइन्छन् । यी किँवदन्तीहरु दोलखामा सातौं शताव्दी देखि चल्दै आएको मानिन्छ । त्यसै कारण सातौं शताब्दी भन्दा अगाडि देखिनै दोलखा बजारमा वस्ती बसेको अनुमान गर्न सकिन्छ । सातौं शताब्दी तिब्बतदेखि हालको भारतसम्म व्यापारीक मार्गको रुपमा रहेको दोलखा बजार प्रमुख व्यापारिक स्थानको रुपमा रहेको थियो । यसै बेला व्यापारका अनेक सामानहरु बोकेर यसै मार्गबाट भरियाहरु हिड्ने गर्दथे । त्यहिवेला हाल भीमेश्वर मन्दिर रहेको स्थानमा वरिपरि जंगल र बीचमा चौर रहेको थियो । उक्त स्थानमा आराम गरी वस्नका लागि उपयुक्त भएकोले भरियाहरुले यसै स्थानमा खाना पकाएर खाने र आराम गर्ने गर्दथे ।

एकदिन भरियाहरुले त्यस स्थानमा खाना पकाएर खाने निधो गरेछन् । भरियाका धेरै समुह मध्ये एक समुहले भात पकाउन चुल्हो बनाउने स्थान खोज्दै जाने क्रममा एउटा ढुङ्गा ठडिएर रहेको पाएछन् र अरु दुइवटा ढुङ्गा ल्याएर सोही स्थानमा चुल्हो बनाई भात पकाउन लागेछन् । भात छड्कन थाल्यो । सवै तिरको भात पाकिसक्दा पनि सुरुमा ठडीइ रहेको ढुंगातिरको भात काँचै भएछ । फेरी भातको भाँडो घुमाएर पकाउँदा पनि त्यो ढुङ्गातिरको भागको पाकेको भात पनि काँचो हुने गर्दाेरहेछ । धेरै पटक यो क्रम दोहो¥याउँदा पनि भात पाक्न सकेन ।

भरियाका अरु समुहहरु भात खाएर हिड्ने तयारी गरि सक्दा पनि भात नपाकेको हुनाले भरिया रिसले चुर भएर दाविलोले ढुङ्गालाई हान्दा ढुङ्गाको चोइटो उच्छिटीएर गयो र त्यहाँबाट रगत मिसिएको दुध बग्न थाल्यो । भीमेश्वरको शिलामा अझैपनि चोइटीएको भाग स्पष्टै देखिन्छ । त्यो दृष्य देखेरे भरियाहरु डराए । सवैले हात जोडेर प्रायश्चित गर्दै प्रार्थना गरे । “हामीले अञ्जानमा गल्ती ग¥यौं साक्षत भगवान हुनुहँुदो रहेछ” भनेर क्षमा माग्दै त्यहाँ मन्दिर बनाई दिने र बडा दशँैको काल रात्रिको दिनमा १२ बोका पूजा गर्ने भाकल गर्दै त्याहाँबाट भरियाहरु हिँडेछन् ।

भाकल अनुसार उनीहरुले पछि त्यस स्थानमा एउटा मन्दिरको स्थापना गरे । छाना सहितको आकर्षक मन्दिर बनाए पछि विधि विधानले पूजा पाठ गरि बडा दशैँको काल रात्रिका दिन १२ बोका पूजा गरेर उनीहरु गएछन् । त्यस स्थानमा भगवान (भीमसेन) भीमेश्वरको आदिशक्ती रहेको र छाना छाउँदा भगवानको शक्ति कुण्ठीत भएको र भगवानलाई सकस भएको सपनामा देखेपछि उनीहरु फेरि त्यस स्थानमा आएर क्षमापूजा गरी छाना विहीनको मन्दिर निर्माण गरेर गएको भनाइ रहेको छ । उक्त १२ बोका पूजा गर्ने चलन अझै रही रहेको छ । त्यसै समय देखि त्यस मन्दिरमा छाना छाउनु हुदैन भन्ने भनाइ सहित छाना रहित यो मन्दिर रहेकोछ ।

मन्दिरको अवस्थाः

भीमेश्वर (भीमसेन) शिलाको शिरभागमा सुनको जलप लगाईएको नागपास झुन्ड्याईएको छ । अगाडि आसन सहित दायाँ–बायाँ सिंह, धुप बत्ती गर्ने दियो राखिएको छ । भीमेश्वर (भीमसेन) शिलाको दायाँ पट्टी भीमसेनकी माता कुन्ती र बायाँ पट्टी पाँच पाण्डवकी पत्नी द्रौपदीको शिला रहेको छ । मन्दिरको बिचमा एउटा मण्डलाकारको मण्डप रहेको छ । जसलाई स्थानीयवासीहरुले गणेशको रुपमा पूजा गर्ने गर्दछन् ।

मुल मन्दिर भित्र पस्ने ढोकामा माथिल्लो पट्टी सुनको जलप लगाईएको कलात्मक तोरण छ । जसलाई स्थानीय भाषामा छ्यापर भन्दछन् । मुल ढोकाको दायाँ वायाँ भीमसेनका गार्ड द्वारपालहरुले भीमसेनलाई सुरक्षा दिइरहेका छन् । ती द्वारपालका माथि पट्टी झण्डा रहेको छ ।

मन्दिर परिसर प्रवेश गर्ने प्रवेशद्वारमा विशाल ढुङ्गाको स्तम्भ ठडिएको छ, जसको माथिल्लो भागमा भीमेश्वर मन्दिर तिर फर्केको डमरु जडित त्रिशुल समातेको सुनको जलप लगाईएको सिंह अवस्थित छ । सम्भवतः सो ढुङ्गाको स्तम्भ नेपालकै ठूलो र अग्लो स्तम्भ हो । उक्त स्तम्भको दायाँ बायाँ अरु दुइवटा साना ढुङ्गाको स्तम्भ रहेका छन् । मन्दिर प्रवेश गर्ने सिंढीमा तल्लो १८ सिंढीमा दायाँ बायाँ दुइवटा एउटै ढुङ्गाबाट निर्मित सिंहहरु र माथिल्लो ७ सिंढीमा दायाँ वायाँ स–साना ढुङ्गाका दुई सिंहहरुले मन्दिरलाई सुरक्षा गरी राखेको छ । उक्त स्तम्भ र सिंहहरु मन्दिरको पश्चिम तर्फ रहेको सिँहवन धार्मिक वनमा निर्माण गरि तानेर ल्याएकोले उक्त वनको नाम सिंहवन रहेको लोक धारणा रहेको छ ।

मन्दिर प्रवेश गर्दा दर्शनार्थीहरु दायाँबाट घुमेर मुख्य मन्दिर परिक्रमा गर्ने चलन रहीअएकोछ । मन्दिर प्रवेश गर्नु अघि हात चोख्याउनका लागि एउटा पानीको धारा राखिएको छ । मन्दिर दर्शन गर्दा सर्व प्रथम गणेश, भीम भैरवको दर्शन गर्नु पर्दछ । त्यस पछि त्रिशुल भएको स्थानमा कालिञ्चोक भगवतीको आराधना गर्ने गरिन्छ । कालिञ्चोक भगवती मन्दिर पुग्न असमर्थ हुने तीर्थालुहरु सोहि स्थानबाट कालिञ्चोक भगवतीको आरधना गर्ने गर्दछन् ।

“धार्मिक कथन अनुसार कुनै कालमा दोलखामा राक्षसहरुले दुःख दिइरहेको आवस्थामा यहाँका मानिसहरु श्रावणशुक्लपक्ष परेवाका दिनदेखि बाजा बजाएर दोलखामा रहेका सम्पूर्ण देवी–देवताहरुका मन्दिमा गएर राक्षसको विगविगीबाट छुटकारा पाउन आराधना गर्ने गर्दथे । देवताहरुले राक्षसको विगविगी र दुःखबाट मुक्ति पाउन कालिञ्चोक भगवतीको आराधना गर्न सुझाव दिएपछि श्रावणशुक्लपक्ष चतुदर्शीका दिन बाजागाजाका साथ कालिञ्चोक भगवतीको आरधनामा जान्छन् । भोलिपल्ट जनैपूर्णीमाका दिन कालिञ्चोक भगवती दोलखा प्रवेश गर्दछिन ।

सोही दिन दोलखामा भव्य मेला लाग्दछ । सोहि दिन देखि भाद्रशुक्लपक्ष कायअष्टमीसम्म सोहि स्थानमा कालिञ्चोक भगवती बस्छिन् भन्ने जन विश्वास रहेकोछ । यो अवधिमा कालिञ्चोक भगवतीकी कान्छी बहिनी बालकुमारीको माहिमाको समेत पाँच दिन सम्म जात्रालाग्ने गर्दछ ।”

मन्दिर पछाडि रहेको सालको ९÷९ इन्चको लम्बाइ र चौडाइ, ३२ फीटको उचाइ रहेको चुलीका सिं (चुडामणि स्तम्भ) ठड्याइएको छ । यो चुडामणिको महिमा ठूलो छ । भीमेश्वरलाई एक शिला सहस्र अवतारको रुपमा पूजा गरिन्छ । भीमसेनलाई रुद्रको रुपमा रुद्री गरिन्छ, भीमनारायणको रुपमा राज पूजा गरिन्छ, भीम भैरवको रुपमा वा भगवतीको रुपमा राँगाको बली दिइन्छ । भीमसेनलाई भक्तजनहरुले आ–आफ्नो भक्ति अनुसार विभिन्न रुपमा पूजा गर्ने भएकोले यो चुडामणि स्तम्भ स्थापना गरिएको हो । राँगाको बली दिँदा भीमेश्वर शिलामा विशेष (भगवतीको) मुकुट पहि¥याइ सेतो तुल (कपडा) ले बेह्री चुडामणिमा लगेर बाँधिन्छ अनिमात्र बली दिइन्छ ।

त्यसै गरि रुद्र महादेवको रुपमा रुद्रि गर्दा डिकी डोरा (काँचो धागोले निर्मित डोरा) भीमेश्वरको शिलाबाट उक्त स्तम्भमा बाँधिन्छ । यसो गर्नुको तात्पर्य भक्तजनहरुले जुन भगवानको आराधना गर्छन् सोहि भगवान त्यस कपडाको मार्ग भएर शिलामा विराजमान हुन्छन् र अन्य भगवान चुडामणि स्तम्भको आसनमा गएर बस्छन् भन्ने जनविश्वास रहेको छ । यो स्तम्भ ढलेको खण्डमा तत्काल अर्काे स्तम्भ पुर्नप्रतिस्थापना गर्नु पर्दछ । चुडामणि स्तम्भ ढल्यो भने नयाँ स्तम्भ पुर्नप्रतिस्थापना नगरुन्जेल भीमेश्वरमा कोरा (सात्विक) पुजा बाहेक अन्य पुजा हँुदैन ।

भीमेश्वरमा भएको अभिलेख अनुसार वि.सं. १७११, वि.सं. १७७३, वि.सं. १८२६ र २००९ सालहरुमा स्तम्भ पुर्नप्रतिस्थापना भएको प्रमाणहरु पाइन्छ । यसरी अनुमान गर्दा करिव करिव ५० देखि ७० वर्षको अन्तरालमा चुडामणि स्तम्भ पुर्नप्रतिस्थापना गरिएको पाइन्छ । २००९ साल असारमा पुर्नप्रतिस्थापना गरिएको चुडामणि स्तम्भ करिव ६१ साल पछि २०७० चैत महिनाको २० गते विहानको ११ बजे ढलेको हुँदा हालको चुडामणि स्तम्भ पुर्नप्रतिस्थापना गरिएको हो । उक्त समयमा झकमक घाम लागेको थियो, तर एक्कासि आकासमा कालो बादलले ढाक्न थाल्यो हावाहुरी चन्न थाल्यो ।

शनिवारको दिन भएका कारण मन्दिरमा दर्शन गर्नेहरुको बाक्लै भीड थियो । मौसम एक्कासि परिवर्तन भएपछि दर्शनार्थीको भीडको सुरक्षाको लागि सुरक्षित स्थान तिर लाग्यो । सोहि समयमा एक्कासि ठूलो आवाजका साथ नैऋत्य कोण पारेर उक्त चुडामणि स्तम्भ ढल्यो । पछि तुरुन्तै मौसम सफा भयो । उपस्थित सम्पूर्ण दर्शनार्थी अचम्मित भए । त्यस पछि विधिविधान पूर्वक दोलखा जिल्ला शहरे गाविस वडा नं. ५ स्थित इन्द्रवती तिलखोरिया सामुदायीक वन समूहको सहयोगमा प्राप्त सालको रुखबाट स्तम्भ निर्माण गरि भीमेश्वर नगरपालिका वडा नं. २ घर भै हाल काठमाडौं लाजिम्पाट निवासी नरेन्द्रबहादुर श्रेष्ठ सहित उहाँका परिवारको संयुक्त सहयोगमा मिति २०७० साल चैत २३ गतेका दिन स्तम्भ पुर्नप्रतिस्थापना गरिएको थियो ।

मन्दिरको परिसरमा दायाँ बायाँ ठुलाठुला घण्टाहरु राखिएका छन् । मन्दिरको अघिल्लो पट्टी दायाँ तिर वि.संं. १९६८ मा चन्द्रवीर बस्नेतले चढाएको ठूलो घण्ट छ भने बायाँ तिर कर्णेल श्री फौदसिं खत्रीले वि.सं. १९४३ मा चढाएको घण्ट रहेको छ ।

दोलखा भीमेश्वर प्रति भक्तजनहरूको विश्वास र धारणा र भगवानको शिलामा पसिनाः

यो मन्दिरमा शीरमा केहि भाग चोइटीएको चारैतिर त्रिकोण आकारको कालो शिला मुख्य मूर्तिको रुपमा रहेको छ । यसै शिलालाई आदिशक्ति, माहाशक्तिको रुपमा भक्तजनहरुले सन्तान प्राप्तिका लागि, व्यापार व्यवसाय बृद्धिका लागि, कृषकहरुले खेतीपाती फस्टाओस, आफ्नो मनोकांक्षा पूरा होस, जीवनमा सुख समृद्धि प्राप्त होस, रोगव्याधि नलागोस आदि भावना र विश्वासले भाकल गरी श्री भीमेश्वर, भीमसेन, रुद्र, महादेव, भगवती, नारायण, बुद्ध, भीम भैरव लगायतका भगवानको अनेकौँ रुपमा पूजा आरधना गर्ने गर्दछन् ।

यस मन्दिरको प्रमुख विशेषता भनेको देश, जनता र राज्य प्रमुखमा सकारात्मक, नकारात्मक परिवर्तन हुन लागेमा श्री भीमेश्वरको शिलामा पसिना आउँने गर्दछ । मन्दिरमा भएको अभिलेख अनुसार वि.सं. १९९०, १९९७, २००७, २०११, २०१७, १०१९, २०२६, २०२८, २०३६, २०४५, २०४६, २०५८, २०६३, २०७० मंसिर ३० गते, २०७० फागुन ३० गते र पछिल्लो पटक २०७४ असोज १० गते दिनको २ः५५ बजे देखि वेलुकी ५ः १५ बजेसम्म भीमेश्वरको शिलामा पसिना आएको थियो ।

दोलखा भीमेश्वर (भीमसेन) लाई पसिना आएपछि तान्त्रिक दीक्षाकर्म भएका व्यक्तिले तान्त्रिक विधिविधानबाट पूजा आरधना गर्नुपर्ने परम्परा अनुसार पूजा गरि पसिनालाई कपासले पुछिन्छ । पसिना पुछिएको कपास महाप्रसादको रुपमा जिल्ला प्रशासन कार्यालय मार्पmत राष्ट्र प्रमुखलाई जानकारी गराई महाप्रसादलाई भीमेश्वरको गुठीयारबाट राष्ट्र प्रमुख समक्ष पु¥याउनु पर्ने त्यस पछि राष्ट्र प्रमुखबाट देश र जनतामा केहि संकट नहोस्, देश र देशवासीहरूमा शान्ति छाओस् भन्दै भीमेश्वरमा क्षमा पूजाका लागि आवश्यक सामग्री पठाउने परम्परा रहेको छ ।

भगवान श्रीभीमेश्वरमा हुने पूजाहरूः

  • क) याकर पूजा (दोलखाका सम्पूर्ण देवी देवतासहित श्री भीमेश्वरको पूजा वडा दशैँको पूजा सरह)
  • ख) पञ्च बलि पूजा (बडा दशैँ गुठी, महास्नान पूजा गुठी, चैत्र दशैँ गुठीको संसर्गमा राँगो, बोका, हाँस, कुखुरा र भेडाको बलि पूजा)
  • ग) बोका, भाले बलि पूजा (वडा दशैको दशमी देखि एकादशी सम्म, कार्तिक पुणिमा महास्नान गुठी पूजा पछिको परेवा र द्वितीयाका दिनहरु, चैत्र दशैको नवमी देखि दशमी सम्म, भीम एकादशीको दिन, महाशिवरात्रीको दिन, बुद्ध पूर्णीमाको दिन, प्रत्येक दिन दिनको १२ बजे पछि भोलि पल्ट ५ बजे सम्म बाहेकका दिनहरूमा)
  • घ) लाख बत्ती बाल्ने पूजा

रुद्री पाठ पूजा

  • (१) एकाह रुद्री पाठ (एक रुद्री पाठ)
  • (२) लघु रुद्री पाठ (एघार रुद्री पाठ)
  • (३) महा रुद्री (१२१ रुद्री पाठ)
  • (४) अति रुद्री पाठ (२५४१ रुद्री पाठ)

चा पुजा (गुठीयार समितिको अनुमतिमा मध्यरातमा गरिने पूजा)

दैनिक हुने नियमित पूजाः

क) विहान ५ बजे शुभारम्भ पूजा
ख) ९ बजे रुद्री पूजा 
ग) १२ बजे छक्काल पूजा
घ) २ : ३० बजे राज पूजा
ङ) वेलुकी ६ बजे सन्ध्याकालीन पूजा 

श्री भीमेश्वर मन्दिरमा बलि पूजा नहुने समय र दिनहरु

क) वडा दशैको दशमी देखि एकादशी सम्म
ख) कार्तिक पुणिमा महास्नान गुठी पूजा पछिको परेवा र द्वितीयाका दिनहरु
ग) चैत्र दशैको नवमी देखि दशमी सम्म
घ) भीम एकादशीको दिन 
ङ) महाशिवरात्रीको दिन
च) बुद्ध पूणर््िामाको दिन
छ) प्रत्येक दिन दिनको १२ बजे पछि भोलि पल्ट ५ बजे सम्म

 

प्रतिक्रिया दिनुहोस्