बैंकहरुको ब्याजदर विवाद तत्काल समाधान गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपीशर्मा ओलीले अर्थमन्त्री डा.युवराज खतिवडा र गभर्नर चिरञ्जीवी नेपाललाई ब्याजदर विवाद समाधान गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा शनिबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसंगको भेटमा प्रधानमन्त्री ओलीले बैंकलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले बैंकहरुलाई मूख्य गरी उत्पादनमुलक, रोजगारीका अवसर सृजना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी गर्न सुझाव दिनुभयो । सरकारले सबै क्षेत्रको एकाधिकार तोड्ने र खुला प्रतिष्पर्धाको वातावरण बनाउने भन्दै ब्याजदरको विषयमा नै विवाद बढे लगानीको क्षेत्रमा र सरकारको नीतिमा असर पर्ने उहाँको भनाइ थियो ।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्सले प्रधानमन्त्री ओलीलाई आफ्नो गुनासो राखेका थिए । बैंकहरुले निक्षेपमा दिने ब्याज घटाए पनि कर्जाको ब्याज घटाउन निकै आनाकानी गरेको लगायतका समस्या उद्योगी व्यापारीले प्रधानमन्त्री ओली समक्ष राखेका थिए ।

यता, प्रधानमन्त्री ओलीको निर्देशनपछि अर्थमन्त्री डा युवराज खतिवडाले सोमबार राष्ट्रबैंक, बैकका सञ्चालक र उद्योगी व्यापारीसँग छलफल गर्ने बताउनुभएको छ । छलफलमा उठेको विषयलाई तत्काल समाधान गर्न उद्योगी व्यापारी र बैंकहरुबीच देखिएको समस्या समाधानको लागि खुलेर छलफल हुने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्