घुस प्रकरणमा मुछिएका राजनारायण पाठक छानविनको दायरामा आउँलान ?

काठमाडौं । घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिएका छन् । महाअभियोगको तयारीकैबीचमा पाठकले राजीनामा दिए । पाठकलाई कारवाही हुन्छ कि हुँदैन भन्ने प्रश्न सुरु भएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पाठकलाई महाअभियोग लगाउने तयारी गरेको थियो । तर, महाअभियोग नलाग्दै उनले राजीनामाको बाटो रोजे । तर, भ्रष्टाचार जस्तो अपराधमा मुछिएका पाठक राजीनामा दिदैमा उम्किन्छन् कि भन्ने शंका कायमै छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमान सिह कार्कीले महाअभियोगका विच राजीनामा दिएर उम्किएका थिए ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ ले घुस लिने व्यक्तिलाई विगो बमोजिम जरिवाना गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त दफामा ५० लाख देखि १ करोडसम्म घुस लिने व्यक्तिलाई ६ वर्ष देखि ८ वर्षसम्मको कैद हुने पनि व्यवस्था गरेको छ ।

अख्तियारले यसलाई नै अनुसन्धानको विषय बनाउन सक्छ । यदि यही घुस प्रकरणलाई लिएर अख्तियारले अदालतमा मुद्दा चलायो र त्यो प्रमाणित भयो भने पाठक कम्तिमा ९ देखि १२ वर्ष कैद हुने छ । संविधान र कानुनले नै पक्राउ गर्दै कारवाही प्रक्रिया अगाडी वढाउने व्यवस्था गरेको भएपनि हाल सम्म पनि अख्तियारले पाठकलाई पक्राउ गर्न सकेको छैन ।

ठुला माछालाई सधै उन्मुक्ति दिने आरोप खेपेको अख्तियारलाई पाठक प्रकरण समेत एक चुनौतिको रुपमा प्रस्तुत भएको छ । भ्रष्टाचारमा मुछिएका पाठकलाई अख्तियारले छानविन गर्छ कि गर्दैन हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्