सामूदायिक घरबास(होमस्टे) सेवा सुरु

  • रबिना बोहरा,

बागलुङ, ५ फागुन । बागलुङको काठेखोला गाउँपालिकाका विभिन्न स्थानमा सामुदायिक घरबास(होमस्टे) सेवा सुरु गरिएको छ । गाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता प्रदान गर्न र गाउँको पहिचान चिनाउनका लागि होमस्टे सञ्चालन भएको हो ।

स्थानीयको आयस्तर वृद्धि गरी गाउँको विकाससँगै आफ्नो ठाउँको पहिचनको लागि घरवास अर्थात होमस्टेको अवधारण ल्याइएको गाउँपालिकाले जनाएको छ । बेलाबखत गाउँमा आइरहने पाहुनालाई राख्न पनि समस्या हुने भएपछि गाउँपालिकाले नै ८ स्थानमा यो सेवा सञ्चालन गर्ने बताएको थियो ।

अहिले कार्यक्रम, घुमफिर तथा अनुगमनका लागि आउने पर्यटकको व्यवस्थापनमा होमस्टेले सहयोग पु¥याएको छ । गाउँघरका मौलिक पुराना बस्तीहरूमा रमाउने भएकाले तिनै मौलिकता बोकेका बस्तीहरूमा होमस्टे सञ्चालन गरिएको छ । हाल यस गाउँपालिकाको वाड नम्बर–७ रेशमा मात्रै चार स्थानमा घरबास सञ्चालनमा ल्याइएको छ । बौर, डोटा देउराली, मौरी झरना र रेश सामुदायिक घरबास गरी चार ठाउँमा घरबास कार्यक्रम शुरु भएको हो ।

यस्तै वडा नं ५ बिहुँ, थाम्डाँडा शिवधुरी, वडा नं ८ लेखानीमा कादेश, वडा नं ४ तङ्ग्राममा फापरखेत झुलेनी र वडा नं ३ धम्जामा बेलढुङ्गा गरी गाउँपालिकाका ३२ घरमा घरबास सेवा शुरु गरिएको बताइएको छ । घरबास सेवा सुरुवातको चरणमा रहेकाले केही अन्यौल देखिएपनि पर्यटकहरुलाई सहजता प्रदान गर्ने गरी लागेको रेश सामुदायिक होमस्टे सञ्चालक चन्द्रबहादुर काउचाले बताउनुभयो । पर्यटकहरु विस्तारै आउने क्रम बढेको भन्दै उहाँले होमस्टे सञ्चालन पछि लोकल खानाको प्रबद्र्धन भएको बताउनुभयो ।

चालु आर्थिक बर्ष २०७५÷७६ मा गण्डकी प्रदेश सरकारले ३ सय वटा होमस्टे प्रबद्र्धन गर्ने योजना अनुसार काठेखोला गाउँपालिका पनि सरकारको योजनामा साथ दिएको बताएको छ ।

सन् २०१९ लाई आन्तरिक पर्यटन बर्षको रुपमा विभिन्न प्रबद्र्धनात्मक अभियान गरेर पर्यटकिय गतिबिधिलाई अगाडी बढाउने योजना प्रदेश तथा स्थानीय सरकारको रहेको बताएका छन् । यस्तै अर्की होमस्टे सञ्चालिका मनमाया थापाले गाउँमा आउने पर्यटकलाई आरामदायी बस्ने वातावरण सिर्जना गरेको भन्दै अझै सिकाईको चरणमा रहेकाले विस्तारै सेवा सुविधा पनि बढाउदैँ लैजाने बताउनुभयो ।

सरकारको अवधारणा अनुरूप पर्यटन प्रवर्द्धनका लागि योजना बनाइ अगाडि बढेको काठेखोला गाउँपालिका–७ का वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । होमस्टेले यहाको परम्परा, धर्म, संस्कृति र मौलिकतालाई उजागर गर्दै पारिवरिक वातावरणमा पर्यटकलाई आनन्दित बनाउन सक्ने बताउनुभयो । घरबासमा आउने पाहुनालाई पर्यटकीय ठाउँ घुमाउने, स्थानीय परिकार खुवाउने र संस्कृति देखाउने योजना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्