पशुपतिको गीतबारे सरकारकाे आधिकारिक धारणा के हाे ? गायक भन्छन्- ‘जनताको भावना जस्ताकाे तस्तै प्रस्तुत गरेको हुँ’

  • नविन कुलुङ

काठमाडाैँ । चर्चित लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा…’ बोलको गीत पछिल्लाे समय निकै चर्चामा रहेको छ । नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै ल्याएकाे साे गीत सार्वजनिक भएपछि उनकाे चर्चा मात्रै होइन विरोध र आलाेचना पनि भइरहेकाे छ ।

शर्माको गीतलाई लिएर सामाजिक सञ्जालमा बहस नै चलेको छ । गीत सार्वजनिक भएपछि सत्तामा रहेको नेकपा पार्टी समर्थकहरूले शर्माकाे गीतलाई सामाजिक सञ्जालमा चर्को आलोचना गर्दै विरोध जनाएका छन् भने, अन्यले युट्युबबाट गीत हटाएकाेमा सरकारकाे विराेध गरिहरेका छन् ।

This image has an empty alt attribute; its file name is pasu.jpg

गीत भाइरल भएपछि नेकपा कार्यकर्ताहरूले सामाजिक सञ्जालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए । शब्द, संगीत र स्वर गायक शर्माको आफ्नै रहेको गीतमा देशमा चलिरहेको भ्रष्टाचार, हत्या, हिंसा र बलात्कारजस्ता विषयलाई पशुपतिले गीतमा निकै कडारुपमा प्रस्तुत गरेको थिए ।

के भन्छन् शर्मा ?

न्युज २४ सँग कुरा गर्दै शर्माले यो गीतले सबै जनताको मन जितेको पनि बताए । उनले जनताले पनि यस्तो गीत आओस् भनिरहेका महसुस गरेको पनि सुनाए । उनले आफ्नो सिर्जना नभएर जनताको सिर्जना भएको पनि बताए ।

सयमा सय प्रतिशत त कोही पनि सही हुँदैनन्, सत्य युगका भगवानले त कति गल्ती थिए भने हामी त कलियुगको कलाकार, सर्जक हाैँ ।

उनले भने , ‘अझ के भन्छु भने, म यो मेरो सिर्जना होइन भन्छु, मैले मेरा बुबासँग कुरा गर्छु, आमासँग कुरा गर्छु, गरिब जनतासँग बसिरहँदा उहाँहरूले जे-जे कुरा बोल्नुभयो, यो-यो देशमा भइदिए हुन्थ्यो, हामी यसरी पीडित भयौँ, सरकारबाट हामीले के-के आस गरेका छौँ ? भन्ने कुरा सुन्दै आएको थिए । मैले १२ वर्षबाट जे-जे सुन्दै आएको थिए, त्यो कुरा टपक्क टिपेर गीत मार्फत जस्ताका जस्तै प्रस्तुत मात्रै गरेको हुँ, जनताको मनमा के कुरा खड्कीरहेको छ ती कुरालाई मैले व्यङ्ग्यात्मक रूपमा प्रस्तुत मात्रै गरेको हुँ ।’

Image result for लुट्‍न सके लुट कान्छा

गायक शर्माले हजुरबुबाको पालादेखि अहिलेसम्म पनि हाम्रो स्वर्गजस्ताे देशमा इन्द्रको जस्ताे शासन हुन नसकेकाे भनेर व्यङ्ग्य गरेको बताए । उनले भने, ‘मैले अहिले मात्रै यमराजको शासन भयो देश बिग्रियो भन्न खोजेका होइन, बुबा हजुरबुबा पनि विकास नदेखी नै मर्नु भयो, हामी पनि विकास नदेखी नै मर्ने भयौँ, इन्द्रको जस्तो शासन भइदिएको भई हाम्रो देश पहिले नै स्वर्गजस्तो हुन्थ्यो भन्ने व्यङ्ग्य हो ।’

आफ्नो गीतमा केही गल्ती भएको समेत उनले स्वीकार गरेका छन् । उनले भने, ‘सयमा सय प्रतिशत त कोही पनि सही हुँदैनन्, सत्य युगका भगवानले त कति गल्ती थिए भने हामी त कलियुगको कलाकार, सर्जक हाैँ । सयमा म सय प्रतिशत सही छु, मैले गरेको सबै राम्रै हो भन्दिन, केही गलत हुन सक्छन्, गल्तीलाई आफूले पनि स्वीकार गर्नु पर्छ, जो कहिले पनि स्वीकार गर्नु पर्छ । तर यो गीतमा मैले जुन व्यङ्ग्य गरेको छु, भाव उठाएको छु, ठूलो पाप गरे, कसैलाई ठेस पुर्‍याए जस्तो लाग्दैन ।’

झण्डाकाे प्रयाेग किन ?

गायक शर्माले गीतमा नेकपाको झण्डा नियतवश नभई भुलवश परेको बताएका छन् । उनले भने, ‘गीत इडिट गर्ने क्रममा म बाहिर थिएँ, इडिटर भाइले नेकपाकाे झण्डा भएकाे दृश्य प्रयाेग गरेछन्, झण्डा प्रयाेग नियतवश गरिएकाे भन्ने आरोप मात्रै हो ।’

उनले युवासंघका नेताहरूले फाेन गरेपछि गीत हटाएकाे बताए । भने, ‘मलाई युवासंघका साथीहरुले फोन गर्नुभएको थियो । त्यस गीतमा भएको दुई-तीनवाटा कुरा टिप्पणी गरेर यी-यी कुरामा हाम्रो विमति छ, याे गीतलाई सच्चाएर हाल्न पर्यो भनेर मसँग फोनमा कुरा गर्नुभएको थियो ।’

शर्माले यो गीतलाई मनन गरेर पुन: अपलाेड गर्ने युवासंघलाई बताएको पनि सुनाए । उनले भने, ‘यो गीतलाई मनोन गर्छु, हेर्छु कहीँ केही गल्ती छ भने म यसलाई हटाएर फेरी अपलोड गर्छु भन्ने कुराकानी भएको थियो ।’

उनकाे र युवा संघकाे कुराकानी भएपछि युवा संघले विज्ञाप्ति नै निकालेर विरोध गरेको बताए । विज्ञाप्ति आफूलाई कांग्रेस बनाएको आरोप लागएकाे सुनाए । तर उनले आफू स्वतन्त्र कालाकार भएको बताए छन् । उनले आफूले आजसम्म कुनै राजनीतिक दालमा संलग्न नभएको र कुनै पनि पार्टीको गीत र चुनावका गीत अहिलेसम्म नगाएको बताए ।

के सरकारले नै प्रतिबन्ध लागाएको हाे त ?

सामाजिक सञ्जालमा पशुपति शर्माको गीतमा प्रतिबन्ध लगाएकाे अाराेप लाउँदै सरकार र सत्तापक्षको धेरै नै आलोचना भइरहेको छ । सरकार समर्थकहरूले गीतको आलोचना गरेका छन् भने, विपक्षी दलले दुई तिहाइको सरकार एउटै गीतले हल्लिएको आरोप लगाउँदै आएका छन् ।

आइतबार काँग्रेसको केन्दीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पशुपति शर्माको गीतका विषयमा व्यङ्ग्य गर्दै भने, ‘कति बलियो होला दुई तिहाइको सरकार एउटा गीतले पनि थरर्र काँप्ने ?’

अभिव्यक्ति स्वतन्त्रताको विषयमा सरकार गम्भीर नरहेको भन्दै उनले भने, ‘सरकार आफैँले कहीँ हस्तक्षेप गरेर युट्युबबाट हटायो या सरकार आफैँले गीत हटाउनलाई चेतावनीको विज्ञप्ति दियो । मेरो आशय आरोप बिलकुल होइन । तर, मुलुकमा जुन प्रकारको वातावरण थियो । एउटा गायकले त्यो गीतलाई प्रस्तुत गर्दै आलोचित या प्रशंसनीय हुन पाउने उसको नैसर्गिक अधिकारको रक्षा राज्यले गर्न सकेन ।’

काँग्रेस नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले भ्रष्टाचार र बेथितीविरुद्ध लोक गायक पशुपति शर्माले गीत बाहिर ल्याउँदा सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् । उनले भने, ‘हामीलाई त अहिले पञ्चायतकालीन शासनजस्तो झझल्को लागेको छ । सरकारले नागरिक अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ ।’

गीतकाे विषयलाई लिएर विवेकशील साझा युवा संगठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विवेक साझाको युवा संगठनले आइतबार विज्ञप्ति प्रकाशन गर्दै राष्ट्रिय कलाकारको अपमान नगर्न आग्रह पनि गरेको छ । साथै फेसबुक मार्फत नेकपाको भातृ संगठन युवा संघ नेपालले गायक पशुपति शर्मालाई धम्कीपूर्ण सन्देश दिएकोमा पनि संगठनले आपत्ति जनाएको छ ।

तर सामाजिक सञ्जालमा र विभिन्न दलहरूले शर्माको गीतमा सरकारले प्रतिबन्ध लगाएको आरोप लगाउँदै आए पनि अहिले सरकारको आधिकारिक धारणा भने आएकाे छैन ।

गीतमा वाइडबडी खरिदमा भएकाे भ्रष्टाचार, ३३ किलो सुनकाण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत व्यंग्य गरिएको छ ।

गीतमा प्रधानमन्त्री ओलीले काम केही नगरेको ठूला–ठूला भाषण मात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेको जस्ता शब्द प्रयोग गरिएको छ । यो गीतलाई प्रतिबन्ध लगाउनेबारे बालुवाटारमा चर्चा नचलेकाे भए हाेइन, चलेकै थियाे तर प्रतिबन्ध लगाउने आधिकारिक निर्णय भने अाएन ।

सरकारका प्रवक्तालाई छैन जानकारी

सामाजिक सञ्जाल र मिडियामा यत्राे खल्लाखल्ला हुँदा पनि सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने लोकगायक शर्माको गीतबारे अाफू जानकार नरहेकाे बताएका छन् ।

सरकारले प्रतिबन्ध लगाएकोप्रति आफूलाई जानकारी बताउँदै उनले भनेका थिए, ‘को पशुपति शर्मा ? म चिन्दिनँ । तपाईँले आफैँ सोध्नुस् न बरु ।’ उनले आफूले कुनै पनि लोक दोहोरी गायकलाई नचिनेको भन्दै यसबारेमा प्रश्न नगर्न अनुरोध गरे ।

नेकपा निकट विद्यार्थी नेता सुरेन्द्र बस्नेतले शर्माको गीतमाथि प्रतिबन्ध लगाउनुपर्ने स्ट्याटस फेसबुकमा लेखेका छन् । उनले लेखेका छन्, ‘पशुपति शर्माको पछिल्लो गीत वहिष्कार गरौं ।सार्वजनिक संचारको माध्यमवाट मनपरी गर्न पाइन्न । लुट्नलाई खुल्ला आह्वान गर्ने, मुलुकमा यमराजको शासन देख्ने, सम्मानित राष्ट्रपतिलाई विवादमा तान्ने, राजनीतिक कार्यकर्तालाई कुकुर भन्ने, भिडियोमा नियोजित रुपमा पटक पटक कम्युनिष्ट पार्टीको झण्डा देखाउने यो प्रायोजित गीतलाई प्रतिवन्ध लगाउनुपर्छ ।’

नेकपा निकट युवा संगठनका नेता रामप्रसाद सापकोटाले भने यस गीतको बारेमा सन्तुलित प्रतिक्रिया व्यक्त गरेका छन् । उनले शर्माको आलोचनात्मक चेतसँग आफू सहमत भए पनि उनको भाषासँग असहमत भएको लेखेका छन् । तर आलोचनाकै आधारमा उनको गीतमाथि प्रतिवन्ध लगाउने सोच्नु गलत हुने उनको भनाई छ ।

‘धम्कीमा गीत हटाइएको हाे भने जस्ताको त्यस्तै पुन: अपलोड गर्नु’

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले भने विवादित बनिरहेको शर्माकाे गीत कसैको कर वा धम्कीमा हटाइएको हाे भने त्याे सर्जककाे अधिकारविरुद्ध हुने भन्दै जस्ताको त्यस्तै पुन: अपलोड गर्न गायक शर्मालाई सुझाव दिएको छ।

प्रतिष्ठानको आइतबार बसेको बैठकमा सो गीतका विषयमा लामो छलफल भएको थियो ।
बैठकपछि प्रेस विज्ञप्ति जारी शर्माको गीत कर वा धम्कीमा हटाइएको भने जस्ताको तस्तै
पुन: राख्न आग्रह गरेको हाे ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले एक प्रेस विज्ञप्ति जरी गरी शर्माको गीत जस्ताको तस्तै सुन्न पाउनु दर्शक, स्रोताको अधिकार भएको जनाएकाे छ ।

जारी प्रेस विज्ञप्तिमा भनिएकाे छ, ‘पशुपति शर्माको गीतमा प्रयोग भएका शब्दमा कलाकार आफैलाई फेर्न योग्य लागेर गीत हटाउनुभएको हो भने त्यो वहको निजी स्वतन्त्रताको कुरालाई संस्था सम्मान गर्दछ। तर कुनै दबाब या कुनै धम्कीको कारण हटाउनुभएको हो भने गीतलाई जस्ताको तस्तै पुन: अपलोड गर्नुहुन संस्था अनुरोध गर्दछ। त्यसपछि आइपर्ने विवाद वार्ता र छलफलद्वारा समाधान हुनु पर्दछ र त्यसको अगुवाइ गर्न संस्था तयार रहेको छ।’

प्रतिक्रिया दिनुहोस्