श्रीस्वस्थानी व्रतकथा आज समापन गरिँदै

काठमाडौं । एक महिनादेखि हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथाको आज समापन गरिँदैछ ।

पुस शुक्ल पूर्णिमादेखि एक महिनाभर व्रत बसी महीनाभरि श्रीस्वस्थानीको पूजा अर्चना गरि गरी एक छाक खाएर श्रद्धापूर्वक श्रीस्वस्थानीको कथा वाचन र श्रवण गरेमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा भगवान विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन निराहार रहेर श्रीस्वस्थानीको व्रत गर्दा मनोकांक्षा पूरा भएको विश्वासका आधारमा यो प्रचलन सुरु भएको मानिन्छ ।

आज व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने १०८ रोटी, १०८ पान, १०८ कुड्का सुपारीलगायतका सामग्रीमध्ये आठ–आठवटा रोटी, सुपारी र पानलगायतका सामग्री आफ्ना श्रीमान्लाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मितछोरालाई दिने र मितछोरा पनि नभए मेरो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने प्रचलन छ ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो ।

एकतीस अध्याय रहेको यस कथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने एवं मनले चिताएको पुग्ने कुरा पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

काठमाडौंको उत्तरपूर्व साँखुस्थित शाली नदीमा एक महिनाभर लाग्ने मेला पनि आज सकिंदैछ ।

प्रतिक्रिया दिनुहोस्