विवादास्पद न्यायाधीश दीपकराज जोशीद्वारा राजीनामा

काठमाडौं । विवादास्पद सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत जोशीले राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।

यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका जोशीलाई कानुनमन्त्रीको मध्यस्थतामा इजलाश दिइएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र समशेर आएपछि जोशीलाई जिम्मेवारीविहीन बनाइएको थियो ।

गत साउनमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिश गरेका दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । नेपालको संसदीय सुनुवाइको इतिहासमा प्रधानन्यायाधीश सिफारिश भएको व्यक्ति समितिबाट अस्वीकृत भएको यो पहिलो घटना हो ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले जोशीबारे विवाद रहेकाले उनलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरिएको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्