विक्रम सम्वत १९८१ मा तेह्रथुममा निर्माण गरिएको छातेढुंगाले पर्यटक लोभ्याउदै

तेह्रथुम, ३० असोज । तेह्रथुमको आठराई गाउँपालिका–५ मा रहेको छाता आकारको ढुंगा हेर्नका लागि पर्यटकहरु धमाधम बढ्न थालेका छन् । आठराईकै पहिचानसंग जोडिएको छाता जस्तो ढुंगा हेर्नका लागि दैनिक आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका हुन् ।

तेह्रथुमको सदरमुकाम म्याङलुङबाट ७५ किलोमिटर पूर्व र पाँचथरको फिदिमबाट १४ किलोमिटर पश्चिममा रहेको यस ठाउँमा छाता आकारका तीनवटा ढुंगाहरु राखिएका छन् । लिम्बूहरुको पुर्खा कन्दङवाहरुले ईतिहास बचाईराख्न ढुंगाका छाता निर्माण गरि गाडिदिएको र यस ठाँउको नाम पनि छातेढुंगा रहन गएको स्थानीय शिक्षक राजमणि थपलियाले सुनाउनु भयो ।

यस ठाँउमा तीनवटा गोलाकार ढुंगा जमिनमा नहल्लिने गरि गाडिएको छ । ति मध्ये बिचको सबैभन्दा अग्लो ढुंगाको उचाई साढे सात फुट रहेको छ । यि ढुंगाको टुप्पामा साढे ८ फुट लम्बाईको जाँतो जस्तो देखिने छाता ओढाईएका छन् । यस ठाँउमा पर्यटकहरुले बाँसको भ¥याङ लगाएर वरिपरि नियाल्दै फोटो खिच्ने र मनोरञ्जन लिने गरेको स्थानीय बेदकुमारी थपलिया बताउनुुहुन्छ ।

वि.स.१९८१ माघ १८ गतेका दिन स्थानीयवासी शुकलाल कन्दङवाले यसको निर्माण गरेको ढुंगाको खम्बामा उल्लेख गरिएको छ । आठराईको ऐतिहासिकतासंग जोडिएको यस पर्यटकीय स्थल प्रर्वद्धनका लागि राज्यको उपस्थिति भने शून्य रहेको छ । यसको संरक्षण र सम्वद्र्धन गर्न सके पूर्वको पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सरोकारवालाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्