दोलखामा स्वस्थानीको साङ्गेः मल्ल्कालीन सहस्र जलयात्रा जात्राका जल चढाएर ब्रत टुंग्याइयो

  • रामभक्त श्रेष्ठ,

दोलखा, ६ फागुन । स्वस्थानी व्रतकथाको अन्तिम अर्थात साङ्गेको दिन दोलखाको ऐतिहासिक शहर दोलखा बजारमा देखाईने मल्लकालीन सहस्र जलयात्रा जात्रा धुमधामका साथ मनाईएको छ । धार्मिक मान्यता अनुसार सतीदेवीको घुँडा पतन भएको त्रिपुरासुन्दरी र वारणसीबाट बाजा र भजनकिर्तनसाथ कन्या केटाले जल बोकी जात्रा प्रारम्भ हुन्छ ।

मल्लकाल अघिदेखि सुरु भएको स्वस्थानीको जलयात्रा जात्रा व्रत लिनेहरुले जल चढाएर व्रत अन्त्य गर्ने दोलखामा प्रचलन छ । दोलखाकै पुरानो जात्राका रुपमा मनाईने सहस्र जलयात्रा जात्रालाई पौराणिक जात्रा समेत भन्ने गरिन्छ ।

दोलखा बजारको वाराणसीमा विहान नुहाइधुवाइपछि मूर्ति लगायत ध्वजापता सहित सजिएका कन्यकेटाले कलसमा सहस्र जल र मूर्ति बोक्नेहरु त्रिपुरा सुन्दरी मन्दिर परिक्रमा गरी दुङ्गल, पिङ्गल हुँदै भीमेश्वर मन्दिरमा आएर जात्रा समापन हुन्छ ।

जात्रा शुरु भएपछि दोलखाका टोल डवलीमा स्वस्थानीको व्रत लिनेहरु घरघरवाट चोखो पानी लिएर चढाउन जम्मा हुने गर्छन् । मूर्ति बोक्ने नारायणहरु र सहस्र जल बोक्नेलाई दोलखा बजारको विभिन्न टोल र डबलीमा पूजा सामग्री लिएर उभिएका महिला व्रतालुहरुले दर्शन गर्ने घरघरवाट ल्याएको चोखो जल चढाउने गर्छन ।

वारणसीमावाट शुरु भएको जलयात्रा जात्रामा ढोलक, सनाई र झम्टा बजाउने समूह हुन्छन भने भजनकिर्तन गर्ने दुई समुह अघि पछि हुन्छन् । दोलखा बजारमा स्वस्थानी वाचन हुने दिनदेखि दिनहँु भजन किर्तन गर्दै बजार परिक्रमा गर्ने गरिन्छ । सहस्र जलयात्रा जात्रामा महिना दिनदेखि स्वस्थानीको व्रत बस्नेहरुले आज जात्रामा जल चढाएर प्रसाद खाएपछि व्रत सकिने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्