व्यवस्था बदलियो, अवस्था उस्तैः एक गाग्री पानी भर्न रातभर जाग्राम !

चुँजामा खानेपानीको हाहाकार

प्युठान मल्लरानी गाउँपालिका–२ स्थित चुँजा गाउँमा वर्षौदेखि पिउनेपानीको हाहाकार छ । पिउनेपानी अभावकै कारण काकाकुल छन्, चुँजाबासी ।

चुँजामा ३ सय घरधुरी छ । सबै घरधुरीकाले एउटै पधेँरोको पानी उपभोग गर्छन् । यहाँका नागरिकको सबैभन्दा ठूला चिन्ता भनेकै खानेपानीको जोहो गर्नु हो । अनि, जीवनको सबैभन्दा धेरै समय पानीको बन्दोबस्त गर्नुमै वितेको छ ।

बिहान झिसमिसेमै उठ्यो, घण्टौं हिँडेर पधेँरोसम्म पुग्यो । घण्टौं कुरेर एक गाग्री पानी भर्यो । पानीको गाग्री पिठ्यूँमा बोकेर घण्टौंपछि घर आइपुग्यो । यो त चुँजाबासीको औसत दैनिकी हो ।

बृद्धबृद्धा र बालबालिका समेत अन्धकारमै पानीपधेँरो पुग्छन् । कष्टसँग पानी भर्छन् । र, पानी बोकेर घर फर्कन्छन् । कोहीकोही त पानी भर्नकै लागि जाग्राम बस्ने गरेका छन् ।

पानी लिन पधेँरोसम्म पुग्ने बाटो निकै अप्ठेरो छ । पानीकै कारण बालबालिका समयमै विद्यालय पुग्न सक्दैनन् । पानी बोक्दा बोक्दा गाउँका अधिकांशमा ढाड दुख्ने समस्या छ ।

तिर्खा लाग्दा धीत मर्ने गरी पानी पिउन पनि पाउँदैनन्, चुँजाका नागरिक । खटाइखटाई पिउनु पर्छ पानी । कोही पाहुना आउँदा पनि पानीकै चिन्ताले सताउँछ । बस्तुभाउ पाल्ने र खेतीपाती गर्ने कुरा त धेरै परको ! पिउनेपानीकै लागि यहाँका नागरिकको उर्जाशील समय बितेको छ ।

पानी भर्ने निहुँमा प्रायः झगडा परिरहन्छ । पानीकै कारण गाउँलेबीचको पारस्परिक सम्बन्ध विग्रने गरेको छ ।

चुँजामा खानेपानीको हाहाकार भएको वर्षौ भयो । पछिल्लो समय खलङ्गा र चुँजा जोड्ने सडक बनेपछि त पानीको अभाव झन् बढ्यो । भएका पानीको मुहान सुक्यो । चुँजामा खानेपानी आयोजना सञ्चालन नभएको भने होइन । तर, आयोजनाबाट बनेको धारामा पानी आउँदैन ।

खानेपानीको बन्दोबस्तीकै लागि यहाँका नागरिकले पटक–पटक राजनीतिक दल परिवर्तन गरेका छन् । एउटा दलले आश्वासन दिन्छ, पत्याउँछन्, भोट द्रिन्छन्, जिताउँछन् । तर, आश्वासन पूरा गर्दैनन् । फेरी त्यस्तै, फेरी त्यस्तै । अब यहाँका नागरिकलाई राजनीतिक दलप्रति पनि विश्वास छैन ।

स्थानीय जनप्रतिनिधि पनि चुँजाबासीको समस्याबारे जानकार छन् । तर, चुँजामा खानेपानी पु¥याउँन उल्लेख्य पहल भएको छैन । र, अझै पनि चुँजाबासीले सहजै गाउँमै पिउनेपानी पाउने आश मारेका छैनन् ।

कहिले पुग्छ पानी ?
वषौँदेखि चँुजाबासी खानेपानी समस्या झेलिरहेका छन् । अधिकांश समय पानीको जोहो गर्नमा नै बित्ने गरेको छ । २०४४ सालमा भुल्क खानेपानी आयोजना मार्फत चुजाको समस्या समाधान गर्ने प्रयास भएको थियो ।

उक्त आयोजना निर्माण सम्मपन्न भई घरमै पानी आउन थालेपछि स्थानीयहरु निकै खुसी बनेका थिए । तर त्यो खुसी धेरै समय टिक्नै सकेन । मर्मत अभावका कारण धारमा पानी आउनै छोड्यो । केही समय अघि मात्रै मल्लरानी गाउँपालिकाले ५ लाख ९० हजार खर्च गरेर आयोजना अन्तर्गतका १३ ओटा धारहरु मर्मत गरेको थियो । तैपनि त्यो त्यति प्रभावकारी बन्न सकेन ।

एउटा धारा १० देखि १५ घरले प्रयोग गर्छन् । पानी थाप्ने पालो नआउँदै धारामा पानी सुक्ने गरेको छ । र आयोजना पुरानो र जिर्ण भएका कारण प्रयाप्त पानी आउदैन । पानी आएपनि एक घरले भर्न नपाउदै सुक्छ ।

चुजामा रहेको खानेपानी समस्याको समाधान गर्न गाउँपालिकाले समबन्धित निकायसंग पहल गरिरहेको छ । हाल गाउपालीकाले माग गरेको स्थानमा खानेपानी मन्त्रालयवाट पहिले नै डिपिआर तयार भईसकेको छ । केन्द्रले पहिले नै हात हालिसकेको कारण प्रदेश सरकारले एउटै ठाउँमा अर्को आयोजन सञ्चालन गर्न सकेको छैन । उक्त आयोजनालाई स्थानीय सरकारको स्वामित्वमा ल्याउन पहल भईरहेको मल्लरानी गाउँपालीका अध्यक्ष अमरध्वज रानाको भनाई छ ।

चुजाको खानेपानी समस्या समाधान गर्ने आश्वासन देखाएर स्थानीय तहका साथै प्रदेश सरकारका उम्मेदद्वारहरुले समेत भोट मागे । तर जहाँ जसको जुन सरकार आएपनि चुजाको समस्या अझै उस्तै छ । जनप्रतिनिधि आएपछि र पहिलेको अवस्थामा कुनै परिवर्तन नआएपछि चुजाबासी निकै चिन्तित छन । तैपनि उनीहरुमा झिनो आश भने अझै बाँकी नै छ ।

चुजामा मात्र होइन गाउँपालिकाको अन्य स्थानमा पनि खानेपानीको समस्या उस्तै छ । सदिऔदेखि उनीहरु पिठ्युमै पानी बोकेर खान बाध्य छन् । खानेपानीको मुहान नजिक नहुदा र गाउको जनसख्या धेरै हुदा उनीहरु खानेपानी समस्यसंग दैनिक जुध्नु परेको छ ।
केन्द्रमा समृद्धिको चर्को भाषण भईरहँदा दुरदराजका जनता भने पिउनेपानीको अभावमा बाँचिरहेका छन ।

जसको उदाहरण हो, चँुजाबासी । ठूला भाषण गरेर ठूलै कुराको सपना देखाउनु भन्दा दुरदराजको समस्या पहिचान गरी त्यसको समाधान गर्नु आजको आवश्यकता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्