गण्डकी मेडिकल कलेजः महिनौदेखि हड्ताल र पठनपाठन नै ठप्प हुदाँ पनि सम्बन्धित निकाय मौन !

  • उत्तम पौडेल,

पोखरा । पोखरामा रहेको गण्डकी मेडिकल कलेजको घटनाले नेपाल सरकारका नियमनकारी निकाय कति सुस्त र गैरजिम्मेवार छन् भन्ने कुराको पुष्टी गरेको छ । सयौं विद्यार्थीले महिनौदेखि कलेजमा हड्ताल गर्दा र पठनपाठन नै ठप्प हुदाँ पनि सम्बन्धित निकायको ध्यान नजादाँ विद्यार्थीहरुले नियमनकारी निकायसँग आक्रोश पोखेका छन् ।

कलेजले मनोमानी ढंगले शुल्क उठाउँदै आएको बिराधमा कलेजको बिरुद्धमा बिद्यार्थीले आन्दोलन थालेको लामो समय भैसक्दा पनि एकातिर अस्पताल प्रशासन मौन छ भने अर्काेतर्फ नियमनकारी निकाय कहाँ छ अत्तोपत्तोे छैन ।

विद्यार्थीले केही समय अगाडि ४ बुँदे माग राखेर कलेज प्रशासन समक्ष ज्ञापनपत्र बुझाएका थिए । तर कलेज प्रशासनले बेवास्था गरेपछि विद्यार्थी आन्दोलनमा उत्रन बाध्य भएको विद्यार्थीहरु बताउँछन् । कलेजले मनपरी ढंगले लिएको बढी शुल्क फिर्ता गर्ने सम्बन्धमा पटक पटक बिद्यार्थीले जानकारी गराउँदा पनि कसैको चासो गएको देखिदैन ।

अतिरिक्त शुल्क तुरुन्त फिर्ता गर्न, सरकारको निर्णय कार्यान्वयन गर्न, बिद्यार्थीले तिरेको सम्पूर्ण रकमको विल उपलब्ध गराउन, शुल्क भुक्तानिको बिषयलाई लिएर बिद्यार्थीलाई परीक्षामा सामेल हुन र परिक्षाफल हेर्नेमा रोक लगाउने काम कुनै पनि रुपमा नगर्न लगाएतका माग राख्दा पनि कलेजले र सम्बन्धित निकाय मौन रहनुले मेडिकल शिक्षामा माफियातन्त्र मौलाउदै गएको र सरकारका जिम्मेवार निकायहरुले माफियातन्त्रलाई थप उर्जा थपेको बिद्यार्थीको जिकिर रहेको छ ।

२०१५ ब्याचका १०० बिद्यार्थीले यहि फागुन १२ गतेबाट हुन गैरहेको अन्तिम परीक्षाको फर्म भर्नुपर्ने मितिको आज अन्तिम दिन पनि १०० जनाले नै फर्म नभरेको र त्यसको जिम्मेवार कलेज प्रशासनले लिनुपर्ने बिद्यार्थीको भनाइ रहेको छ ।

आइओएम ले तोकेको ३८ लाख पचास हजार भन्दा धेरै पैसा कलेजले असुल्दै आएको उनीहरुको आरोप रहेको छ । कलेजले विभिन्न बहानामा १० लाख बढाएर ४६ लाख लिदै आएको र त्यसको बिरोध स्वरुप यो बिरोधको कार्यक्रम गर्नु परेको उनीहरुको भनाइ रहेको छ ।

विभिन्न बहानामा बिद्यार्थीसँग पैसा असुल्दै आएको जिएमसी कलेजले १० लाखदेखि १७ लाखसम्म असुलेको बिद्यार्थीको आरोप रहेको छ । कुन शिर्षकमा कलेजले कति पैसा लिएको छ भन्ने जानकारी कुनै पनि बिद्यार्थीसँग नभएको उनीहरु बताउँछन ।

बिना शिर्षक पैसा लिने र त्यसको बिल भौचर केही पनि नदिनुले कलेजको नियतमा प्रश्न उठेको छ र त्यो स्वाभाविक प्रश्न पनि हो ।

प्रतिक्रिया दिनुहोस्