सरकारी सेवाका चिकित्सक बुधवार सामूहिक विदामा बस्दा सेवा प्रभावित

  • रिया भण्डारी,

काडमाडौं । दरबन्दी संघअन्तर्गत नै हुनुपर्ने मुख्य मागमा आज देशभरका सरकारी सेवाका कार्यरत चिकित्सक बिदा बसे । एकैपटक ठूलो संख्यामा चिकित्सक बिदामा बस्दा काठमाडौं उपत्यकामा रहेका अस्पतालको सेवा प्रभावित भएको छ ।

बुधबार देशभरका १ हजार ४ सय सरकारी सेवामा कार्यरत चिकित्सक बिदामा बसेको सरकारी चिकित्सक संघले जनाएको छ । बिरामीको चाप हुने सरकारी अस्पतालमा बुधबार रेजिडेन्ट र बिकास समितिबाट खटिएका केही डाक्टरले मात्र सेवा दिँदा बिरामी र तिनका आफन्तले सास्ती खेपेका छन् ।

एकैपटक ठूलो संख्यामा चिकित्सक विदामा बसिदिँदा अस्पतालको नियमित सेवामा गम्भीर प्रभाव पर्दा सरकारी अस्पताल पुग्ने बिरामीका आफन्त आक्रोशित थिए । चिकित्सकले सेवालाई पहिलो प्राथमिकता दिनुपर्ने र सरकारले पनि चिकित्सकलाई बारम्बार आन्दोलनमा उत्रिने परिस्थिति सिर्जना गर्न नहुने सर्बसाधारणको सुझाब छ ।

कान्ति अस्पतालमा मात्र एकैपटक ४० जना चिकित्सक बिदामा बस्दा अस्पतालको सेवा प्रभाबमा समस्या भएको अस्पतालले जनाएको छ । केहि दिनमा रेजिडेन्ट चिकित्सकले पनि आन्दोलन गर्ने चेतावनी दिएका छन् । जसका कारण विरामी र तिनका आफन्त थप मारमा पर्ने निश्चित छ ।

यस्तै समस्या वीर, राष्ट्रिय ट्रमा सेन्टरलगायत अस्पतालमा देखिएको छ । आवासीय छात्रबृत्ति र करारका चिकित्सकले दिने सेवा विरामीको चापअनुसार पर्याप्त हुँदैन । दरबन्दी संघअन्तर्गत नै हुनुपर्ने अडानमा रहेका सरकारी सेवाका चिकित्सक माग पूरा गर्न सरकार सकारात्मक नभए सामुहिक राजीनामा दिने योजनामा छन् ।

स्वास्थ्य मन्त्रालयले भने आन्दोलनरत चिकित्सकको मागबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छलफल भइरहेको बताएको छ । सामान्य प्रशासन मन्त्रालयले भने कर्मचारी समायोजन बिधेयक अहिलेकै अनुरुप अघि बढ्ने भन्दै चिकित्सकको माग पूरा नहुने संकेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्