स्वास्थ्य जाँच विना नै चितवनमा धमाधम च्याङ्ग्रा बेचिदै

चितवन । दशैं लक्षित गरि बजारमा बिक्री भएका च्याङ्ग्राहरु स्वास्थ्य जाँच बिनानै धमाधम बिक्रि भएको भेटिएको छ । जिल्ला पशु सेवा कार्यालय चितवन र क्वारेन्टाईन कार्यालय चितवनले गम्भीरता नदेखाउँदा चितवनका बासिन्दा अस्वस्थ्यकर मासु खान बाध्य भएका छन् ।

मंगलबार गरिएको अनुगमनका क्रममा च्याङग्रा आयात गर्ने ब्यवसायीले स्वास्थ्य जाँच र क्वारेन्टाईन परीक्षण विनानै धमाधम जिउँदो तथा काटेर मासु बिक्री गर्ने गरेको भेटिएको हो । अनुगमन टोलीले सो क्रममा नारायणगढको हाई फुड मासु पसल बन्द गराएको छ । पशु चिकित्सकको पशु निरोगिताको प्रमाणीकरण बिनानै च्याङ्ग्राको आयात गरी क्वारेन्टाइनमा समेत जाँच नगराई जिउदो तथा काटेर च्याङग्रा बिक्री गरेकोे भेटिएपछि सो मासु पसल शील गरी स्वास्थ्य जाँच गरेर मात्रै बिक्री गर्न निर्देशन गरेको क्वारेन्टाईनका बरिष्ठ पशु स्वास्थ्य प्राबिधिक पुर्ण चन्द्र अधिकारीले बताए।

मासु पसलका सञ्चालकलाई पटक पटक बिक्री स्थलमै पुगेर स्वास्थ्य चाँज गराएर र क्वारेन्टाईन जाँच गराएर बिक्री गर्न आग्रह गर्दा समेत कुनै सुनुवाई नगरी मानव स्वास्थ्य प्रति खेलवाड गरेकाले चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको निर्देशनमा मासु पसल शील गरिएको उहाँले बताए । त्यस्तै नारायणगढको बालकुमारी तरकारी बजारमा रहेको एक मासु पसललाई ५ हजार जरिवना गरिएको छ ।

उसले पनि क्वारेन्टाईन जाँचनै नगरी च्याङ्ग्रा आयात तथा बिक्री गरेकाले उसलाई ५ हजार जरिवना गरिएको अधिकारीले बताए । चितवनका अधिकांश मासु पसलले मनपरि तवरबाट मासुको ब्यापार गरेको भेटिएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका कार्यवाहक अध्यक्ष बिष्णु भुषालले बताए  ।

प्रतिक्रिया दिनुहोस्