सरकारी जग्गा ब्यक्तिको नाममा पार्न यस्तो हर्कत ! (भिडियोसहित)

सरकारी जग्गा व्यक्तिको नाममा !

रुपन्देही, मायादेवी गाउँपालिका– ८ स्थित सुकुम्बासी बस्ती रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी भएको तथ्य फेला परेको छ । ५० सुकुम्बासी परिवारले टहरा बनाएको बसेको करिब १६ कठ्ठा सार्वजनिक जग्गा व्यक्तिको नाममा भएको तथ्य फेला परेको हो । मालपोत कार्यालय रुपन्देहीको श्रेष्ताअनुसार सुकुम्बासी बस्ती भएको उक्त जमिन नवलपरासीका सुरेश अर्यालको नाममा भएको फेला परेको हो ।

कित्ता नम्बर ३५९ र ३६० मा रहेको १६ कठ्ठा ३ धुर जग्गा व्यक्तिको नाममा भएको तथ्य भेटिएपछि टहरो हालेर बसेका सुकुम्बासीमा चिन्ता बढेको छ । अनायासै ‘सुरेश अर्यालका मान्छे’ भन्नेहरुले सुकुम्बासीलाई बस्ती छाड्न धम्की दिइरहेका छन् । केही मान्छे आएर ‘छिटो बस्ती नछाडे बालबच्चाको ज्यान जानसक्छ’ भनेर धम्क्याइरहेको सुकुम्बासी बस्तीका नागरिकले बताएका छन् ।

धम्कीले बस्तीमा बस्नै त्रास भएको सुकुम्बासीले बताएका छन् । गाउँमा बस्नै नसक्नेपछि सुकुम्बासीले शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए । तर, प्रशासनले आवश्यक पहल नगरेको उनीहरुको आरोप छ । प्रशासनमा उजुरी दिनेमध्ये एक महिलाले आत्महत्या गरेकी छन् । बस्ती नछाडे मार्ने धम्कीकै कारण ती महिलाले आत्महत्या गरेको परिवारको अनुमान छ ।

यो सार्वजनिक जग्गा भोगचलन गरेबापत स्थानीयले तत्कालिन गाउँ विकास समितिलाई तिरो बुझाउँदै आएका थिए । र, सुकुम्बासी आयोगले पनि उनीहरुलाई टोकन दिएको थियो । २२ वर्षदेखि बसिरहेको सार्वजनिक जग्गा एक्कासी व्यक्तिको नाममा भएको कुरा आएपछि सुकुम्बासी बस्तीका नागरिक आश्चर्यचकित भएका छन् ।

अहिले जग्गाधनी दाबी गरिरहेका सुरेश अर्यालले सार्वजनिक जग्गा आफ्नो नाममा पार्न मालपोत कार्यालय र स्थानीय तहका प्रतिनिधिलाई प्रभावमा पारेको प्रष्ट हुन्छ । २०४६ सालमै उक्त जग्गा सुरेश अर्यालको नाममा भएको कागज बनाइएको छ । नागरिकताका आाधारमा त्यतिबेला अर्यालको जन्म २०३४ सालमा भएको हो । यसले १२ वर्ष हुँदा नै उक्त जग्गा सुरशे अर्यालको नाममा पारेको देखिन्छ । जबकि, १८ वर्ष नभई कसैको नाममा जग्गापास नै हुँदैन । अर्थात् जग्गा पास भएको मितिमा सुरेशको नागरिकता नै बनेको थिएन । यसबाट पनि प्रष्ट हुन्छ कि, अनेक जालसाजी गरेर सार्वजनिक जग्गालाई सुरेशले आफ्नो नाममा पारेका हुन् ।

यसरी ल्याइयो सार्वजनिक जग्गा व्यक्तिको नाममा

नवलपरासीका सुरेश अर्यालले रुपन्देही मायादेवीको करिब १६ कठ्ठा सार्वजनिक जग्गा जालसाजी गरी आफ्नो नाममा बनाएको रहस्य फेला परेको छ । १२ वर्षकै उमेरमा जग्गा सुरेशको नाममा भएको देखिनुले जालसाजी भएको प्रष्ट हुन्छ ।

अर्यालको जालसाजीलाई मातपोत कार्यालयका अधिकारी र स्थानीय जनप्रतिनिधिले सघाएका छन् । सार्वजनिक जग्गा उपभोग गरेबापत तत्कालिन हाटीबनगाई गाउँ विकास समितिलाई घरधुरी कर तिरेको प्रमाणले पनि उक्त जग्गा सरकारी नै बुझिन्छ । सुरेश अर्यालले सार्वजनिक जग्गा आफ्नो बनाउनका लागि आफूसँग भएको लालपुर्जा हराएको दाबी गर्दै नयाँ जग्गाधनी पुर्जाका लागि वडा कार्यालयमा निवेदन दिए ।

वडा कार्यालयले उक्तजग्गाको लालपुर्जा हराएको भन्दै जग्गाधनी पुर्जा बनाइदिन मालपोत कार्यालयलाई सिफारिस गर्यो । कागजी प्रमाणअनुसार २०७४ साल भदौ १९ गते चलानी नम्बर १४९मा वडा कार्यालयले सिफारिस गरेको छ । स्थानीय तहको सिफारिसपछि जिल्ला मालपोत कार्यालय रुपन्देहीले सुरेश अर्यालको नाममा जग्गाधनी पूर्जा दिएका छन् ।

जग्गाधनी पूर्जा पाएपछि अर्यालले उक्त जग्गामा बसोबास गरिरहेका सुकुम्बासीलाई बस्ती छाड्न धम्की दिन थालेका हुन् । जसले सुकुम्बासी नागरिकलाई स्तब्ध बनायो । उनीहरुले गाउँपालिका कार्यालय घेरेर आन्दोलन गरे । तर, सुकुम्बासीको आवाज सरोकारवाला निकायले सुनेन ।

सुरुमा बैंकिङ कारोबारका लागि उक्त जग्गा धीतो राख्न तत्कालिन हाटीबनगाई गाविस कार्यालयले चारकिल्ला बाँधेको थियो । यसले सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउन त्यतिबेलैदेखि प्र्रयास भएको प्रष्ट हुन्छ । स्थानीयका अनुसार चार किल्ला तोक्दा सर्जमिन समेत गरिएको थिएन । सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीलाई तत्कालिन गाविसले सुकुम्बासी बस्तीका लागि पनि सिफारिस गरेको थियो ।

जसआधारमा २०७१ सालमा सुकुम्बासी समस्या समाधान आयोगले स्थानीयको निवेदन दर्ता गरेको थियो । तर पछि २०४६ सालमै उक्त जग्गा व्यक्तिको नाममा भएको कागज बनाइएको छ । यसले तत्कालिन गाविस कार्यालयको द्वेध चरित्र र मिलेमतोलाई संकेत गर्छ । फेरि, अर्को शंकास्पद कुरा यो छ कि, २०७५ असारमा मायादेबी गाउँपालिका कार्यालयले उक्त जग्गाको चौकिल्ला सिफारिस नगर्न भनेको थियो । र, मालपोत कार्यालयमा जग्गा रोक्का राख्न पत्राचार भएको प्रमाण छ ।

यतिसम्म कि, उक्त जग्गा हुँदै नजिकैको औद्योगिक क्षेत्रमा जानका लागि बनाइएको बाटोबापत तत्कालिन गाविसले कर लिँदै आएको थियो । सुरेश अर्यालले उक्त जग्गा धीतो राखेर ५० लाख रुपैयाँ ऋण लिने र पछि जग्गा आफ्नो नाममा बनाउन पटक पटक अनेक प्रयास गरेको प्रमाण छ ।

सुरेशका बुबा भुपराज अर्यालका अनुसार सुकुम्बासी बस्ती भएको जग्गा नजिकैको सिद्दार्थ इँटा तथा टायल कारखानाको जग्गा खरिदका लागि नविन राइनलाई दुई पटक गरी दुई लाख ६५ हजार रुपैयाँ बैनास्वरुप दिएको र अन्तिममा जग्गा नदिएपछि उक्त जग्गा सुरेशको नाममा बनाउन नविनले कीर्ते कागजात तय गरेका हुन् । यसबारे कुरा गर्न नविन रायन र सुरेश अर्याल सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्