राराभन्दा सेरोफेरो झनै सुन्दर : जनजीवन, संस्कृतिदेखि प्राकृतिक सौन्दर्यसम्मकाे अनुपम अनुभूति (फोटोफिचर)

  • दानबहादुर बुढा

मुगु । पर्यटकीय गन्तव्य रारा पुग्ने पर्यटकहरुलाई यसकाे अधिकांश सेराेफेराे थाहा हुँदैन । रारा तालबाहेक सेरोफेरोमा झनै सुन्दरस्थल तथा जनजीवनकाे अवलाेकन गर्न सकिन्छ । तर पनि पर्यटकको नजरमा ती गन्तव्य पर्न सकेका छैनन् ।

मुगुमा रारा ताल मात्र छ भनेझैँ देखिएको छ । तर राराको नीलो पानीभन्दा त मन लोभ्याउने पर्यटकीय स्थल मुगुमा अनगिन्ती छन् । यहाँकाे प्रकृति मात्र हाेइन, संस्कृति पनि अतुलनीय अनुभूतिका भण्डार हुन् । याे कुरा पर्यटकसम्म पुग्न नसकेकाे मात्र हाे ।

रारादेखि दुई दिनको पैदल यात्रामा पुगिने माथिल्लो मुगु, कोइजी मरक्का हिमाललगायत सेरोफेरो पर्यटकका निम्ति अति नै महत्वपूर्ण स्थान छन् । त्यहाँ पर्यटक पुग्न नसक्दा उक्त स्थलहरु सधैँ सुनसान छन् ।

मुगमकामारोङ गाँउपालिका डोल्फु गाँउमा रहेको प्राचीन शैलीमा निर्मित प्रसिद्ध छायाँनाथ तीर्थस्थल, सोही गाविसको तामाखानी, तिहार गुम्बा, तिहार दोभान झनै सुन्दर छन् ।

उक्त क्षेत्रमा रेडपाण्डा विश्वकै दुर्लभ मानिने सेतो प्रजातिको कस्तुरी, नाउर, घोरल, मृगका बथान गिद्धको बासस्थन, सेतो र कालो प्रकारको शिलाजीत, चाँदीजस्तै टल्किने हिमालको अवलोकन गर्न पाइन्छ । सोही स्थानहरुमा ठूला र साना गरी करिव डेढ सय पानीका झर्ना हेर्न पाईन्छ ।

पुरानो मुगुमा पहाड छेरेको ठूलो प्वाल छ स्थानीयबासीले त्यस लाई तिब्बत हेर्ने दुलो भन्ने गरेका छन् । सिमा मुगु गाउँ पर्यटकका लागि होमस्टेकाे उचित व्यवस्था छ । स्थानीय परिकारदेखि तिब्बती परिकार चाख्न पाइन्छ ।

त्यति मात्र नभएर कान्जिरोवा हिमाल पनि मुगुमै पर्छ । माथिल्लो मुगुको सेरोफेरोमा रहेको पुलु, किम्री, डोल्फु माग्री, मुगुमा १२ सय भन्दा बढी प्राचिन चैत्य बौद्ध धार्मिक गुम्वा देख्न पाइन्छ ।

छायानाथ रारा नगरपालिका वडा नम्बर १३ मा हरेको रुगा तिर्प गाउँमा १० हजार अग्लो पानीको झर्ना पर्यटको लागि उत्तिकै आकर्षित ।

पुलु गाविसको पुवा गाउँभन्दा माथि ढुङ्गामा निर्मित प्राचीन बौद्धका मूर्ति, हप्केलाको छाप, धातुका मुर्ती डेढ सय भन्दा बढी गुफा रहेको माग्री गाविसका छिरिङ लामाले बताए ।

पूर्वी भेगमा पर्यटकको लागि धेरै आकर्षक स्थानको रुपमा चिनिन्छ । सिमित पर्यटक स्थल मात्र नभएर यार्सागुम्बा, पाँच औँले, अतिस, कटुकी, भोल्ते, जस्ता जडिबुटीको भण्डार पनि रहेको छ ।

तातोपानी गुफाको आकर्षण

जिमा गाविसको कुलाहाँ भन्ने स्थानमा प्राचिन तातोपानी र गुफा बर्षैदेखि ओझेलमै परेको छ । उक्त गुफा भित्र ५ सय भन्दा बढी मान्छे अट्छन् त्यहाँ भित्र हजारौँ चमेरा, परेवाको बासस्थान रहेको स्थानीयको भनाई छ ।

रारा ताल भन्दा त सोरु गाँउपालिकाको तातोपानी गुफा धेरै आकर्षण रहेको स्थानियबासीहरुले बताएका छन् । गुफाभित्र धेरै खानी र चमेरा, परेवा, दुम्सीसमेत देख्न पाइन्छ ।

उक्त गुफा सम्म पुग्न रारा देखि १ दिन लाग्छ, कालै गाविसको ऋषि गुफा ढुङ्गे बाघ तस्विर,भीई गाविसको क्यामिकल तोरीखान, जिमा गाविसकै ख्याल्च गाउँमा रहेको स्टोन खानी पर्यटकको निम्ति देख्नै पर्ने स्थान हुन ।

कोटेराजदरबार कच्चेकोट रोवा गाविस ऋणमोक्ष धार्मिक तीर्थस्थल रुगाको रु १ नोटमा अंकित चंखेली हिमाल, दुधे दह सहित ५ ताल भए पनि त्यहाँ कुनै पर्यटक पुग्न सकेका छैनन् ।

डोल्फु गाविसको छायाँनाथ तीर्थस्थल र ऋणमोक्षमा हरेक वर्षको जनैपँर्णीमा ठँलो धार्मिक मेला लाग्ने र दर्शनको निम्ति भारत हिमाचल प्रदेश लगायत क्षेत्र बाट तिर्थालुको घुइँचो लाग्ने गरेको छ ।

उता खत्याड भेगको गम्था गाविसमा रहेको खेस्मामालिक तीर्थस्थल पनि निकै महत्वको रुपमा परिचित छ । त्यहाँ हरेक जनैपँर्णिमा मेला लाग्ने गर्छ । उक्त क्षेत्रमा अन्य पर्यटकिय आक्रर्षण स्थल प्रसस्तै छन् ।

प्रचारको अभावले ओझेलमा

ग्रामीण भेगका अति सुन्दर मनमोह पर्यटकीय स्थलहरु ओझेलमा परेको पूर्व जिबिस सभापति छिरिङ क्याप्ने लामाले स्वीकार गरे । उनले केवल रारा मात्र नभएर मुगुमा साना र ठूला गरी १ सय भन्दा बढी ताल तथा कुण्ड रहेकाे बताए ।

राराभन्दा बाहिरका पर्यटकीय स्थलको कुनै चिनारी नहुँदा पर्यटकहरु कोही हवाई मार्ग त कोही सतही मार्ग हुँदै रारा पुग्ने र त्यहाँ ‍दुई-चार दिन ताल वरपर घुमघाम गरी उही बाटो फर्कने गर्छन् ।

‘राराका पर्यटकलाई गाउँमा घुमाउने’

वर्षैपिच्छे स्वदेशी तथा विदेशी पर्यटकहरु रारा भ्रमणमा आउने गर्छन् । तर अन्य कतै स्थानतिर नलागेर फिर्ता भएर जाने गर्छन् ।

कम्तीमा रारा आएका पर्यटकहरु नगरपालिकाभित्र रहेका अन्य धार्मिक सा‌ंस्कृतिक पर्यटनका क्षेत्रहरुको अवलोकान भ्रमणमा तान्न सकिने सम्भावना छन् । पर्यटकहरुकाे बसाइ बढी समय लम्बाउनका लागि नगरबाट गुरुयोजना बनाउन लागिएको छयानाथ-रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले बताएका छन् ।

प्रचार-प्रसारको कमी र पर्यटकका लागि बास बस्ने उपयुक्त होटल तथा गाइडको समस्या एकातिर छ भने अर्कातिर स्थानीय परिकारकाे उचित व्यवस्था नहुँदा राराभन्दा बाहिरका सुन्दर पर्यटकीयस्थलकाे प्रभाव नभएको यदाकदा अाउने पर्यटकहरु बताउँछन् ।

अर्कोतिर नेपालगञ्ज, सुर्खेत, पोखरा, काठमाडौँ विमानस्थमा मुगुका पर्यटकीय चिनारी राख्नुपर्ने स्थानीय पर्यटकीय पदमार्ग निर्माणलाई जोड दिनुपर्ने र होटलको उचित व्यवस्था हुनुपर्ने अहिलेका प्रमुख अावश्यकता हुन् । यहाँ अाउने आन्तरिक तथा बाह्य पर्यटकको गुनासो समेत यही हुने गर्छ ।

रारा भ्रमण वर्षको उपलब्धी के ?

पर्यटक प्रवर्द्धनका लागि विगत वर्षमा २ पटक रारा महोत्वदेखि यो वर्ष कर्णाली-रारा भ्रमण वर्षका रुपमा मनाइयाे । यस आर्थिक वर्षमा म्याराथुन दौड, जलबायु सम्मेलन र सञ्चार सम्मेलन तथा गएको वैशाखमा कर्णाली प्रदेश सरकारको आयोजनामा रारामा पर्यटन वर्ष शुभारम्भ गरिएको थियाे ।

एक पटक रारा आएका पर्यटकहरु जिल्ला भरीका बिभिन्न पर्यटन क्षेत्रमा रमाउन, अवलोकन भ्रमण गर्नको लागी कर्णाली पदेश सरकारबाट मुगु जिल्ला र पँरै प्रदेशको पर्यटन गुरुयोजना बनाउन लागेको मानवसरोवर छायानाथ, तातोपानीलगायत अन्य क्षेत्रको गुरुयोजना बनाउन प्रदेश सभामा पहल भइरहेको मुगु जिल्ला क्षेत्र नम्बर एकका सांसद दानसिंहले बताएका छन् ।

रारा भ्रमणको लागि राष्ट्रपति, प्रधानमन्त्री, सरकारका उच्च पदाधिकारी, विदेशी कूटनीतिज्ञलगायतका ब्यक्ति यहाँ अाएका छन् । उनीहरुकाे राराकाे भ्रमणमा आउँदा यहाँको विकासका लागि ठूला कुरा गरे तापनि राराबाट काठमाडौँ पुग्नेबित्तिकै सबै कुरा भुल्ने गरेका छन् ।

केन्द्रबाट पर्यटन प्रवर्द्धनका निम्ति वार्षिक डेढ करोडभन्दा बजेट निकाशा भई आउने र जिल्लामा उपभोक्ता बन्दै सिध्याउने गरेको स्थानीय जनताको गुनासो रहेको छ । जिल्लाभरिका पर्यटकीय स्थलको पहिचान र प्रचारको आवश्यकता देखिएको पनि छ ।

अन्य सम्भावना

सिमा मुगुमा पर्यटकको लागि प्याराग्लाइडिङ गर्न सकिने धेरै सम्भावना पनि छन् । डोल्फु कर्णाली नदीदेखि बार्दिया चिसापानी सम्म -याप्टिङको गर्न सकिने भएकोले विदेशी पर्यटक भित्र्याउन सकिने सम्भावना पनि उत्तिकै छ ।

रारादेखि जुम्लाको सिंजा भ्याली, रारादेखि सिमा मुगु गाउँ हुँदै तिब्बत मानसरोवर र अर्को रारा देखि हुम्लाको दार्म सर्केगार्ड हुँदै सिमिकोट हुम्लादेखि मानसरोवर पर्यटकिय पदमार्गले जोड्न आवश्यक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्