अधिकार बाँडफाँडको विषयमा संघीय र प्रदेश सरकारबीचको विवाद गलतः गच्छेदार

  • तारा आचार्य

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका उपनेता एवम् पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारले दुई तिहाई बहुमत पाएर पनि वर्तमान सरकारले प्रभावकारी काम गर्न नसकेको बताउनु भएको छ ।

मंगलबार विराटनगरमा संचारकर्मीहरुसंग उपनेता गच्छेदारले सरकार सबै क्षेत्रमा असफल बन्दै गएकाले नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको सहमति पनि कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो । उहाँले सरकारले प्रभावकारी काम गर्न नसकेकाले भारत सरकारले नेपाललाई चार वटा हवाई प्रवेश विन्दु दिने भनेको सहमति पनि कार्यान्वयन हुन नसकेको बताउनु भयो ।

उपनेता गच्छेदारले सुरक्षा, परराष्ट्र र अर्थ सम्बन्धी विषय संघीय सरकारको कार्य क्षेत्र भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर मात्र प्रदेश सरकारले कानुन बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संघीय र प्रदेश सरकार बीच अधिकारको बाँडफाँडको विषयमा समेत विवाद हुनु गलत भएको टिप्पणी गर्नुभयो । उहाँले संघीयतालाई कुनै पनि हालतमा असफल दिन नहुने विषयमा तीनै तहको सरकार संवेदनशील बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उपनेता गच्छेदारले दुई तिहाई बहुमतको सरकार भएपनि संविधान, कानुन र लोकतान्त्रिक मुल्य मान्यता अनुसार सरकार चल्नुपर्ने बताउदै कुनै पनि अधिनायकवाद सैह्य नहुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्